सुनसरी – वैदेशिक रोजगारमा देखिएका ठगीका घटनाहरु बढ्दै जाँदा, यसलाई नियन्त्रण गर्न ‘अप्रवासी कामदार हकहित संरक्षण केन्द्र’ काेसी प्रदेशका उपाध्यक्ष सन्तोष लिम्बूले समन्वयात्मक कदम अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
लिम्बूका अनुसार, हाल वैदेशिक रोजगारीमा कामदारहरु विभिन्न प्रकारका ठगीको सिकार बनिरहेका छन्, जसमा फर्जी एजेन्टहरू, झूटा कागजात, अधिक शुल्क असुली, अनियमित सम्झौता लगायतका समस्या मुख्य छन्। ठगीको शिकार बनेका कामदारहरूले सम्बन्धित निकायहरूसँग गुनासो गरिरहे पनि, उचित समन्वय अभावका कारण समस्याहरू समाधानमा कठिनाइ भइरहेको उनले बताए।उनले भने, “वैदेशिक रोजगार विभाग, सम्बन्धित दूतावास, प्रवासी नेपाली समन्वय समिति (पि एन सि सि), जिल्ला प्रशासन कार्यालय, लगायतका निकायहरूसँग गहिरो समन्वय गरी वैदेशिक रोजगारमा देखिएका विभिन्न ठगीका घटनाहरूलाई नियन्त्रण गर्न हामी कटिबद्ध छौं।” लिम्बूले यी निकायहरूबीच समन्वयात्मक कदम चाल्न सके, ठगीलाई नियन्त्रणमा लिने प्रयास सफल हुने आशा व्यक्त गरे।
लिम्बूका अनुसार, धेरैजसो घटनाहरू बाहिर आउन नसक्दा पीडितहरूले उचित न्याय पाउन कठिन भइरहेको छ। यस सन्दर्भमा, अप्रवासी कामदार हकहित संरक्षण केन्द्रले पीडित कामदारहरूको गुनासो सम्बोधन गर्न र न्याय दिलाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
उनले थपे, “हामी ठगीको शिकार बनेका कामदारहरूको हकहित संरक्षणको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सम्बद्ध निकायहरूसँग छलफल र सहकार्यलाई थप बलियो बनाउँदैछौं। वैदेशिक रोजगारमा देखिएको यो चुनौतीलाई समाधान गर्न सबै निकायहरूकाे समन्वय र एकताको खाँचो रहेको छ।”
अप्रवासी कामदार हकहित संरक्षण केन्द्रले वैदेशिक रोजगारका विषयमा नयाँ नीतिहरू कार्यान्वयनका लागि सरकारलाई सल्लाह सुझावसमेत दिने लक्ष्य राखेको छ।
Discussion about this post