झापा। झापाको बिर्तामोड केन्द्रित होटल तथा डान्सबार क्षेत्रमा अवैध गतिविधि मौलाउँदै गएको बेला इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय श्रेष्ठमाथि होटल र डान्सबारबाट मासिक रकम असुल्दै आएको गम्भीर आरोप सार्वजनिक भएको छ।
प्राप्त विवरण अनुसार डीएसपी श्रेष्ठले बिर्तामोड क्षेत्रमा सञ्चालित केही होटलबाट मासिक ८० हजार रुपैयाँसम्म असुल्ने गरेको खुलेको छ। उक्त रकम होटल व्यवसायी राम राजवंशीलाई बिचौलियाको रूपमा अघि सारेर उठाइने गरिएको व्यवसायीहरूको दाबी छ।
राजवंशी ताप्लेजुङ पाथीभरा होटल तथा दाजुभाइ होटल एण्ड लजका सञ्चालक समेत हुन्। उनीमार्फत मासिक रकम बुझाइएपछि होटलहरूमा खुलेआम अवैध यौनधन्दा अर्थात् ‘देह व्यापार’ सञ्चालन गर्न छुट दिइने गरेको आरोप लगाइएको छ।
डान्सबारबाट मासिक ४० हजार असुलीको दाबी
त्यस्तै, बिर्तामोडका डान्सबारहरूले पनि मासिक ४० हजार रुपैयाँ बुझाउँदै आएको दाबी गरिएको छ। डान्सबार सञ्चालकमध्ये एक जनाले भने, “निर्वाचन अघिसम्म नियमित पैसा बुझाउँदै आएका थियौँ। तर एक पटक ढिला हुँदा होलीको अघिल्लो दिन छापा मारेर स्टाफ पक्राउ गरियो।”
उनका अनुसार रकम बुझाउने डान्सबारहरू भने प्रहरीको निगरानीमै बिहान ५ बजेसम्म सञ्चालन हुने गरेका छन्। “११ बजेपछि स्वयम् प्रहरीको उपस्थितिमा डान्सबार चल्छ,” उनले भने।
बिर्तामोडमा तृष्णा, डीडब्लू, स्टार, जन्नत, नाइट लाइफ द नाइट लगायत आधा दर्जनभन्दा बढी डान्सबार सञ्चालनमा छन्।
‘प्रहरीलाई पैसा नबुझाएर बाँच्न गाह्रो छ’
नाइट लाइफ डान्सबारकी सञ्चालक नवीना राजवंशीले भारतीय नागरिकलाई लक्षित गरेर डान्सबार सञ्चालन गरिएको बताउँदै भनिन्, “११ बजेपछि ग्राहक आउँछन्। तर प्रहरी ११ बज्नुअघि नै आएर ढोकामा बस्छ। पैसा नबुझाएर धरै छैन।”
उनले दिनहुँ प्रहरीको दबाब र हैरानीका कारण ग्राहक आउन छाडेको दाबी पनि गरिन्।
२२ होटलमा यौनकर्मी राखिएको रिपोर्ट सार्वजनिक
प्रहरी स्रोतकै दाबी अनुसार बिर्तामोड आसपासका २२ वटा होटलमा यौनकर्मी राखेर व्यवसाय सञ्चालन भइरहेको छ। सो गतिविधि सञ्चालनका लागि मासिक रूपमा प्रहरीसम्म रकम पुग्ने गरेको रिपोर्ट समेत बाहिरिएको छ।
सुरक्षा निकायले नै तयार गरेको विशेष रिपोर्टमा होटलहरूमा बालिकासमेत देहव्यापारमा प्रयोग भएको उल्लेख गरिएको बताइएको छ।
स्रोतका अनुसार ती होटलहरूमा ४ देखि १० जनासम्म यौनकर्मी राखिएको र धेरैजसो युवती लागूऔषध प्रयोगकर्ता तथा नाबालिकसमेत रहेको दाबी गरिएको छ।
ग्राहकबाट असुलिने रकमको आधा हिस्सा होटल सञ्चालकले राख्ने र बाँकी यौनकर्मीलाई दिने चलन रहेको बताइन्छ। कतिपय अवस्थामा नगदको साटो लागूऔषध उपलब्ध गराएर युवतीलाई नियन्त्रणमा राख्ने प्रवृत्ति समेत रहेको आरोप छ।
बसपार्क क्षेत्रका होटलबाट उठाइन्छ ८० हजारसम्म
अर्जुनधारा–११ स्थित टेकबहादुर गिरी बसपार्क र मुक्तिचोक आसपासका होटलहरूमा अवैध यौनजन्य गतिविधि व्यापक रहेको दाबी गरिएको छ।
बसपार्क क्षेत्रका होटलहरूबाट मासिक ८० हजार रुपैयाँसम्म संकलन गरी बिचौलिया राम राजवंशीमार्फत प्रहरीसम्म पुर्याइने गरेको विवरण सार्वजनिक भएको हो।
यसबाहेक प्रहरीले बेलाबखत छापा मारेर ‘बार्गेनिङ’ गर्ने र आर्थिक मिलेमतोपछि पुनः सञ्चालन गर्न दिने अभ्यास रहेको आरोप पनि उठेको छ।
होटलहरूको नाम समेत सार्वजनिक
प्राप्त विवरण अनुसार देहव्यापारमा संलग्न भनिएका होटलहरूमा ताप्लेजुङ पाथीभरा होटल, दाजुभाइ होटल एण्ड लज, पाथीभरा होटल एण्ड लज, पुरानो निशा होटल, नमस्ते होटल, गुड लक होटल, सोल्टी होटल, स्टे ह्याप्पी होटल, बीएण्डबी होटल, सगरमाथा होटल, लाफा होटल, इलामेली ब्रदर, ताप्लेजुङ भुम्बेदिन होटल, आसेङ्ग होटल एण्ड लज, सांग्रीला होटल एण्ड लज, न्यूसाइनो होटल एण्ड लज, दार्जीलिङ होटल एण्ड लज, तिर्खा होटल एण्ड लज लगायत रहेका छन्।
नयाँ एसपी आएपछि ‘सेटिङ’ भत्कियो?
झापा जिल्ला प्रहरी कार्यालयमा नयाँ प्रहरी प्रमुख एसपी बशुन्धरा खड्का आएपछि यसअघि चल्दै आएको सेटिङ भत्किएको र त्यसपछि यो विषय बाहिर आएको बताइएको छ।
यसअघि होटल तथा डान्सबारको ‘रेखदेख’ नै प्रहरीको नियमित ड्युटी जस्तो बनेको आरोप स्थानीयले लगाएका छन्।
केही दिनअघि राति १ बजेसम्म सञ्चालनमा रहेका चार डान्सबारबाट प्रहरीले ७ जना कर्मचारी पक्राउ गरेपछि व्यवसायीहरूले असुलीको विषय खुलेर बोल्न थालेका हुन्।
प्रहरीले स्टार डान्सबारका तारा प्रधान, तृष्णा डान्सबारका सुरेश राजवंशी र सुशन लेप्चा, डीडब्लू डान्सबारका सफल राई र राजकिशोर साह, नाइट लाइफ डान्सबारका युगल चौधरी तथा गन्तव्य डान्सबारका कृतन पौडेललाई पक्राउ गरेको थियो।
रकम लिएर पनि सञ्चालकलाई पक्राउ गरेपछि प्रहरीमाथि चौतर्फी आलोचना भएको छ।
एसपी खड्काको चेतावनी : अब मुद्दा दर्ता गर्ने तयारी
जिल्लामा डान्सबारबाट अत्यधिक गुनासो आएपछि अनुगमन तीव्र पारिएको एसपी खड्काले बताएकी छन्।
उनले भनिन्, “अहिलेसम्म सचेत गराएर छोड्दै आएका थियौँ। अब नियम उल्लंघन गर्नेहरूलाई मुद्दा दर्ता गर्ने तयारी छ।”
उनका अनुसार रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा अनुशासन पालना गर्नुपर्ने हुन्छ। “नियम अनुसार सञ्चालन गरे समस्या आउँदैन,” उनले स्पष्ट पारिन्।
डान्सबारमा देखिएका समस्याबारे छलफल गर्न सञ्चालकहरूलाई बोलाएर प्रहरी प्रशासनले छलफल समेत गरिसकेको बताइएको छ।
झापामा बढ्दो अवैध धन्दा : प्रहरीकै संरक्षणमा अपराध मौलाउँदै?
स्थानीय सरोकारवालाहरूका अनुसार बिर्तामोड क्षेत्रमा होटल र डान्सबारलाई केन्द्रित गरी अवैध यौनधन्दा र लागूऔषध कारोबार बढ्दै गएको छ। यसले युवापुस्ता, समाजिक सुरक्षा र महिला तथा बालिकाको जीवनमा गम्भीर जोखिम सिर्जना गरिरहेको उनीहरूको भनाइ छ।
तर, अवैध गतिविधि रोक्नुपर्ने सुरक्षा निकायकै कर्मचारीमाथि ‘असुली र संरक्षण’ को आरोप सार्वजनिक हुनु झापाको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठ्ने अवस्था आएको छ।
अब यो प्रकरणमा डीएसपी विजय श्रेष्ठसहित संलग्न भनिएका व्यक्तिहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग स्थानीयस्तरबाट तीव्र रूपमा उठ्न थालेको छ।
यदि यस्ता आरोप सत्य सावित भए, यो घटना केवल आर्थिक अनियमितता मात्र नभई कानुनको आडमा अपराधलाई संरक्षण दिने संगठित संरचनाको डरलाग्दो तस्वीर बन्न सक्ने देखिन्छ।










Discussion about this post