इनरुवा । सुनसरीको भारतसँग जोडिएको लौकही नाका फेरि लागुऔषध तस्करीको ‘हटस्पट’ बन्दै गएको संकेत देखिएको छ। कोशी गाउँपालिका–१, लौकहीस्थित सशस्त्र सीमा सुरक्षा बल (सशस्त्र प्रहरी) बिओपी लौकहीको मूलगेट अगाडि शंकास्पद गतिविधि गर्दै नेपाल प्रवेश गर्न खोजिरहेका एक युवकलाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
भारतीय सीमावर्ती बजारबाट भन्सार टोलको बाटो हुँदै नेपालतर्फ पैदल आउँदै गरेका इटहरी उपमहानगरपालिका–१७ का ३३ वर्षीय अबजल हुसेनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
सशस्त्र सीमा सुरक्षा बल बिओपी लौकहीका इन्चार्जका अनुसार सशस्त्र प्रहरी सहायक हबल्दार गणेश पुलामीको कमाण्डमा खटिएको दुई सदस्यीय टोलीले चेकजाँच गर्दा हुसेनको साथबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरेको हो।
बरामद पदार्थ कालो प्लास्टिकमा बेरेर लुकाइएको अवस्थामा फेला परेको र प्लास्टिकसहित तौल गर्दा ०.५३० ग्राम रहेको जनाइएको छ।
पक्राउ परेका हुसेनलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बिओपी लौकहीले जनाएको छ।










Discussion about this post