इनरुवा । सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) का कार्यालय प्रमुख सतिश सत्याललाई मन्त्रालय तानिएको छ। स्वास्थ्य परीक्षणमा फेल भएका सेवाग्राहीलाई पास गराएको आरोप लागेपछि उनलाई मन्त्रालयमा तानिएको हो।
आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशले गरेको छड्के अनुगमनका क्रममा स्वास्थ्य परीक्षणमा फेल भएका व्यक्तिलाई पास गराइएको भेटिएपछि सत्याललाई मन्त्रालयमा बोलाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सवारी चालक अनुमति पत्र लिन वा नवीकरण गर्दा अनिवार्य रूपमा गर्नुपर्ने स्वास्थ्य परीक्षणमा फेल भएकालाई सेवाग्राहीसँग पैसा लिएर पास गराउने गरेको आरोप उनीमाथि लागेको छ। यस विषयमा लिखित तथा मौखिक गुनासो बढेपछि मन्त्रालयका सचिव आस्मान तामाङको नेतृत्वमा छड्के अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा अनियमितता पुष्टि भएपछि कार्यालय प्रमुख सत्याललाई मन्त्रालय तानिएको आन्तरिक मामिला तथा कानून मन्त्री ईन्द्रमणि पराजुलीले जानकारी दिए।
अनुगमन टोलीले कार्यालय प्रमुख सत्यालको कार्यकक्षको दराजसमेत सिल गरेको छ। मन्त्री पराजुलीले भने, “पटक–पटक मौखिक रूपमा सचेत गराएका थियौं। सचेत गराउँदा पनि नसुध्रिएपछि छड्के अनुगमन गर्नुपरेको हो।”
यातायात कार्यालयहरूमा स्वास्थ्य परीक्षणको नाममा आर्थिक लाभ लिने गुनासो बढेपछि गएको साउनदेखि मन्त्रालयले आफैं चिकित्सक नियुक्त गर्ने व्यवस्था गरेको थियो। अस्थायी दरबन्दी सिर्जना गरी कोशी प्रदेशका तराईका तीन जिल्लाका यातायात कार्यालयमा चिकित्सक खटाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमा २ जना, इटहरीमा २ जना र विराटनगरमा १ जना गरी ५ जना विशेषज्ञ चिकित्सक नियुक्त गरिएका छन्। ती चिकित्सकहरूले लाइसेन्स लिन वा नवीकरणका क्रममा आवश्यक स्वास्थ्य परीक्षण गरी रिपोर्ट दिने व्यवस्था गरिएको छ ।
यता कार्यालय प्रमुख सत्यालले भने आफूविरुद्ध लगाइएको आरोप निराधार भएको दाबी गरेका छन्। उनले यातायात कार्यालयमा लामो समयदेखि रहेको स्वास्थ्य परीक्षणसम्बन्धी समस्यालाई सुधार गर्ने प्रयास गरेको उल्लेख गर्दै सेवाग्राहीलाई असहज नहोस् भनेर आफूले ‘रिचेक’ लेखिदिने गरेको र सोही विषयलाई आधार बनाएर आरोप लगाइएको बताए।
मन्त्रालयले भने घटनाबारे थप अध्ययन तथा छानबिन भइरहेको जनाएको छ।










Discussion about this post