चिरौली । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी तथा मातहत कार्यालयका कर्मचारीहरूलाई कार्यालय समय अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएका छन्।
अध्यक्ष आजादको निर्देशन अनुसार कार्यालयमा समयमै उपस्थित भई सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ। उनले कार्यालय समयमै काम सम्पन्न नगर्दा सेवाग्राहीलाई अनावश्यक दुःख र झन्झट हुने भन्दै यसप्रति गम्भीर बन्न कर्मचारीहरूलाई आग्रह गरेका छन्।
गाउँपालिकाले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति सचेत रहँदै फाइल, सिफारिस, प्रमाणपत्र, दर्ता लगायतका सेवाहरू तोकिएको समयभित्र टुंग्याउन निर्देशन दिएको छ। साथै कार्यालयमा अनिवार्य पोशाक (ड्रेस कोड) पालना गर्न, मर्यादित व्यवहार देखाउन र सेवाग्राहीसँग सभ्य तथा सहयोगी व्यवहार गर्न पनि स्पष्ट निर्देशन दिइएको छ।
अध्यक्ष आजादले स्थानीय तहको सेवा प्रवाह जनमुखी हुनुपर्ने उल्लेख गर्दै समयपालन, अनुशासन र जवाफदेहितामा कुनै सम्झौता नहुने बताएका छन्। पालिका अध्यक्ष आजादले कार्यालयमा ढिलाइ, गैरहाजिरी तथा सेवामा लापरवाही गर्ने कर्मचारीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएका छन्।
गाउँपालिकाले निर्देशन कार्यान्वयनका लागि नियमित अनुगमन गर्ने र सेवाप्रवाहको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाइने जनाएको छ।











Discussion about this post