चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (LGPAS) सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको समग्र सेवा प्रवाह सुधार, पारदर्शिता वृद्धि तथा कार्यसम्पादनलाई मापनयोग्य बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यतामा तथा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार अधिकारीको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष आजादले LGPAS प्रणालीले स्थानीय सरकारलाई जिम्मेवार र नतिजामुखी बनाउन सहयोग गर्ने उल्लेख गर्दै सबै शाखा तथा वडा कार्यालयले योजना कार्यान्वयन, सेवा प्रवाह र प्रशासनिक कामकाजमा अनुशासन र सुधार ल्याउनुपर्ने बताए। उनले मूल्यांकन प्रणालीलाई केवल कागजी प्रक्रिया नबनाई गाउँपालिकाको समग्र विकाससँग जोडेर व्यवहारमा उतार्नुपर्ने धारणा राखे।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत अधिकारीले LGPAS ले स्थानीय तहको सुशासन, वित्तीय अनुशासन, पारदर्शिता र जनउत्तरदायित्व सुनिश्चित गर्ने भएकाले कर्मचारी तथा जनप्रतिनिधिहरूले यसको मापदण्ड र सूचकहरूलाई गम्भीरतापूर्वक पालना गर्नुपर्ने बताए। उनले LGPAS अनुसार काम गर्दा गाउँपालिकाको वार्षिक मूल्यांकनमा सुधार आउनुका साथै संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने प्रोत्साहन र अवसरमा पनि वृद्धि हुने स्पष्ट पारे।
कार्यक्रममा LGPAS अन्तर्गतका सूचकहरू, कार्यसम्पादन मूल्यांकनको प्रक्रिया, आवश्यक कागजात व्यवस्थापन, प्रतिवेदन तयार गर्ने विधि तथा मूल्यांकनमा ध्यान दिनुपर्ने मुख्य पक्षहरूबारे जानकारी गराइएको थियो।
सूचना तथा प्रविधि अधिकृत सन्देश तिम्सिनाका अनुसार, अभिमुखीकरण कार्यक्रमले कर्मचारी तथा जनप्रतिनिधिहरूलाई मूल्यांकन प्रणालीको मर्म बुझ्न र कार्यान्वयनमा एकरूपता ल्याउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा गाउँपालिकाका शाखा प्रमुख, वडा सचिव, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।











Discussion about this post