चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन गरिएको हो।
तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारी, लेखा अधिकृत दिपेन्द्र चौधरी तथा स्वास्थ्य शाखा प्रमुख हिरालाल साह विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमको अध्यक्षता कृषि शाखा प्रमुख सकिल अंसारीले गरेका थिए भने तालिममा प्रशिक्षक किशोर लुइँटेलले किसान सूचीकरणको उद्देश्य, प्रक्रिया, फाराम भर्ने तरिका, तथ्यांक संकलन तथा डिजिटल प्रणालीमार्फत किसान विवरण अद्यावधिक गर्ने विषयमा प्रशिक्षण दिएका थिए।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि अध्यक्ष आजादले किसानको वास्तविक तथ्यांक संकलन गरी नीति तथा कार्यक्रम प्रभावकारी बनाउन किसान सूचीकरण अत्यन्त आवश्यक रहेको बताए। उनले किसानलाई लक्षित सेवा, अनुदान तथा कृषि कार्यक्रम पारदर्शी र व्यवस्थित बनाउन सूचीकरणले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले गाउँपालिकाले कृषकको पहिचान र आवश्यकताको आधारमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको भन्दै तालिमले सहजकर्ताहरूलाई जिम्मेवारीपूर्वक काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष सकिल अंसारीले गाउँपालिकाभित्रका कृषकलाई व्यवस्थित रूपमा सूचीकृत गरी कृषि योजनालाई लक्ष्यित बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए।
तालिम सम्बन्धी जानकारी सूचना तथा प्रविधि अधिकृत सन्देश तिम्सिनाले प्रदान गरेका थिए। कार्यक्रममा सम्बन्धित शाखाका कर्मचारी, सहजकर्ता तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।











Discussion about this post