सुनसरी । अर्गानिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्दै किसानलाई जैविक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले सुनसरीको बर्जु गाउँपालिकामा ‘अर्गानिक कम्पोष्ट, झोल मल एवम् जैविक विषादी उत्पादन सम्बन्धी ४ दिने तालिम’ सञ्चालन गरिएको छ।
बर्जु गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा सुरु भएको तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष जिवछ रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष रायले पछिल्लो समय रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको र मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर परिरहेको बताए। उनले स्थानीय तहले कृषकलाई आधुनिक तरिका मात्र नभई प्राकृतिक र दीगो कृषि प्रणालीतर्फ अभिमुख गराउने नीति लिएको उल्लेख गर्दै तालिमबाट किसानले व्यावहारिक सीप सिक्ने विश्वास व्यक्त गरे।
प्रमुख प्रशासकीय अधिकृत सुधिर साफीले कृषिमा आत्मनिर्भर बन्नका लागि उत्पादन लागत घटाउनुपर्ने र त्यसका लागि जैविक मल तथा विषादी उत्पादन निकै प्रभावकारी हुने बताए। उनले किसानलाई रासायनिक मलमा निर्भर नबनाई स्थानीय स्रोत साधन प्रयोग गरी कम्पोष्ट मल, झोल मल तथा जैविक विषादी घरमै उत्पादन गर्ने प्रविधि सिकाउनु पालिकाको दीर्घकालीन योजना रहेको बताए।
चार दिनसम्म सञ्चालन हुने तालिममा सहभागी कृषकलाई अर्गानिक खेतीका आधारभूत सिद्धान्त, माटो व्यवस्थापन, जैविक मल तयार गर्ने विधि तथा जैविक विषादी बनाउने तरिकाबारे सैद्धान्तिक तथा व्यावहारिक रूपमा प्रशिक्षण दिइँदैछ।
तालिममा विशेषगरी वर्मी कम्पोष्ट, झोल मल (जिवामृत/गौमूत्र मिश्रण), हरियो मल, प्राकृतिक विषादी लगायतका सामग्री तयार गर्ने तरिका सिकाइने कृषि विकास शाखाले जनाएको छ।
तालिम अवधिमा किसानलाई खेतमै प्रयोग गर्न मिल्ने गरी स्थानीय रूपमा उपलब्ध गोबर, पातपतिङ्गर, घाँस, जैविक पदार्थ, नीम, लसुन, खुर्सानी, तितेपाती लगायतका सामग्रीबाट विषादी उत्पादन गर्ने तरिका समेत सिकाइने छ।
बर्जु गाउँपालिकाभित्रका विभिन्न वडाबाट किसानहरूको उल्लेखनीय सहभागिता रहेको छ। तालिममा सहभागी कृषकहरूले पछिल्लो समय रासायनिक मल महँगो हुँदै गएको र समयमा उपलब्ध नहुने समस्या बढेकाले अर्गानिक विधि सिक्न पाउँदा खुसी व्यक्त गरेका छन्।
कृषकहरूका अनुसार घरमै सजिलै उत्पादन गर्न सकिने झोल मल तथा जैविक विषादीको प्रयोगले उत्पादन लागत घट्ने र स्वास्थ्य तथा वातावरणमैत्री खेती गर्न सहयोग पुग्नेछ।
कृषि विकास शाखाका अनुसार बर्जु गाउँपालिकाले दीगो कृषि विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता तालिमलाई निरन्तरता दिने योजना बनाएको छ। तालिममार्फत किसानलाई जैविक खेतीप्रति आकर्षित गराउँदै पालिकाभित्र उत्पादन हुने तरकारी, धान, गहुँ लगायतका कृषि उपजलाई अर्गानिक ब्रान्डिङ गर्ने लक्ष्य समेत राखिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, कृषि शाखाका प्राविधिक, प्रशिक्षक तथा कृषकहरूको उपस्थिति रहेको थियो। तालिम अन्त्यमा सहभागीलाई प्रमाणपत्र वितरण गरिने कृषि विकास शाखाले जनाएको छ।
बर्जु गाउँपालिकाले सञ्चालन गरेको यस किसिमको तालिमले किसानलाई आत्मनिर्भर बनाउने मात्र होइन, स्वस्थ माटो, सुरक्षित खाद्य उत्पादन र दीगो कृषि विकासतर्फ महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।











Discussion about this post