इटहरी । इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठकमा वडाध्यक्षहरुले विभिन्न सार्वजनिक महत्वका विषय र समस्याहरुको उठान गरेका छन् । उपमहानगरपालिकालाई पारदर्शी र सेवाग्राहीमैत्री बनाउनेदेखि दीर्घकालिन गुरुयोजना बनाउनेसम्मका माग गरेका हुन् ।
इटहरी वडा नं. ३ का वडाध्यक्ष उमेश सुवेदीले दीर्घकालिन गुरुयोजना र व्यवस्थित शहरीकरणको योजना बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले अबको कति वर्षपछि इटहरीलाई कस्तो बनाउने भन्ने विस्तृत योजना बनाइनुपर्ने बताए ।
यस्तै वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेलले विगतमा योजना नबनाइ गरिएका धेरै कामहरुमा बजेट मात्रै खेर गएको गुनासो गरे । वडामा नगरले गर्ने कामहरुको बारेमा वडाध्यक्षहरुलाई पनि थाहा दिनुपर्ने माग गरे ।
वडा नं. ४ का वडाध्यक्ष भक्त लामाले बाढीका कारण आफ्नो वडालाई सबैभन्दा बढी क्षती गर्ने गरेको बताउँदै बाढी नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने माग गरे । वडा नं. १२ का अध्यक्ष भुवन पोख्रेलले पनि बाढी नियन्त्रणमा ध्यान दिनुपर्ने माग गरेका थिए ।
कार्यपालिका सदस्य तारादेवी ढकालले उपमहानगरपालिकाको कामलाई सेवाग्राहीमैत्री बनाउनुपर्ने धारणा राखेकी थिइन् । उनले विभिन्न फाँट र कोठा डुल्ने बाध्यता हटाउँदै एक ठाउँमा फाइल बुझाएपछि कर्मचारीले नै काम सकेर फाइल फिर्ता दिने व्यवस्था गर्न प्रस्ताव गरेकी थिइन् ।
यस्तै वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठले निर्माण सामाग्रीको भाउ बढेकोले पहिले गरिएका विभिन्न विकास निर्माणका कामहरुको सम्झौता कार्यान्वयन गर्न समस्या भएको बताए ।
बैठकमा कार्यपालिका सदस्यहरुले उठाएका विभिन्न प्रशासनीक विषयहरुमा प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जवाफ दिएका थिए । मेयर हेमकर्ण पौडेलले नगरवासीका समस्या समाधान हुने र परिवर्तनको अनुभुती हुने गरी काम गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए । यस्तै उपमेयर संगीताकुमारी चौधरीले पनि सबैजना मिलेर नगर विकासमा अघि बढ्नुपर्ने बताएकी थिइन् । त्यसैगरी बैठकले विभिन्न विषयगत समितिहरु गठन गरेको छ । गत वैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुसहितको कार्यपालिका बैठकले विभिन्न समितिहरुलाई पूर्णता दिएको हो ।
बैठकले प्रमोद शेर्पाको संयोजकत्वमा सामाजिक समिति गठन गरेको छ भने मनबहादुर विश्वकर्माको संयोजकत्वमा पूर्वाधार विकास समिति गठन गरेको छ । यस्तै आर्थिक विकास समितिको संयोजक दीपा राई तोकेको छ भने वन वातावरण तथा विपत व्यवस्थापन समिति श्रीनारायण चौधरीको संयोजकत्वमा गठन गरेको छ । यस्तै सुशासन तथा संस्थागत विकास समिति भीमादेवी राईको संयोजकत्वमा बनाएको छ ।
यस्तै बैठकले उपमेयर संगीताकुमारी चौधरीको संयोजकत्वमा स्थानीय राजस्व परामर्श समिति गठन गरेको छ । यो समितिमा उद्योग वाणिज्य संघ, घरेलु संघसमेतका प्रतिनिधिहरुको सहभागिता हुनेछ ।
यस्तै स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति मेयरको संयोजकत्वमा गठन गरेको छ । बजेट तथा कार्यक्रम तर्जुमा समिति उपमेयर संगीताकुमारी चौधरीको संयोजकत्वमा बनेको छ । जसमा विभिन्न विषयगत समितिका संयोजकहरु सदस्यको रुपमा रहेका छन् ।
Discussion about this post