इनरुवा । सुनसरी वराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष ०७९-०८० का लागि ९४ करोड २ लाख ४१ हजार ९ सय ३० रुपैयाँको बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार दशौँ नगर सभाबाट आर्थिक वर्ष ०७९÷०८० का लागि ९४ करोड २ लाख ४१ हजार ९ सय ३० रुपैयाँको बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।
नगरपालिकाले आन्तरिक आय ९ करोड ५० लाख अनुमान गरिएको छ । सङ्घीय सरकारबाट सशर्त अनुदान ४१ करोड २७ लाख, वित्तीय समानिकरण अनुदान २१ करोड ४८ लाख, संघीय सरकारबाट राजस्व वाडफाँडबाट १५ करोड ९४ लाख २३ हजार, प्रदेशबाट वित्तीय र सशर्त गरी १ करोड ८१ लाख ४३ हजार गरेर जम्ममा ९४ करोड २ लाख ४१ हजार ९ सय ३० रुपैयाँको बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको प्रमुख कार्कीले जानकारी दिनुभयो । चालु खर्चमा ५० करोड ४५ लाख छ भने पुँजीगत तर्फमा ४३ करोड ५७ हजार बजेट विनियोजन गरेको छ ।
पूर्वाधार विकासमा १० करोड ८५ लाख ७२ हजार ९ सय ३० रुपैयाँ, आर्थिक विकाश तर्फ ५ करोड ४२ लाख ८५ हजार, सामाजिक विकास ६ करोड ७८ लाख ५७ हजार, विपद् वन तथा वातावरणमा १ करोड ९० लाख र सुशासन तथा क्षमता विकास २ करोड १४ लाख २८ हजार विनियोजन गरिएको प्रमुख कार्कीले जानकारी दिनुभयो । नगरपालिकाले ’समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नारा तय गरिएको छ ।
कृषि र पर्यटन मार्फत रोजगारी सृजना गर्ने नगरपालिकाको लक्ष्य राखेको छ । वातावरणमैत्री नगर निर्माण गर्न १ घर २ रुख अभियानलाई कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
रोजगारी प्रवर्द्धन गर्न ‘बेरोजगार युवाका लागि मेयर रोजगार कार्यक्रम’ तय गरिएको छ । महिला सशक्तीकरणको लागि भन्दै ’उपमेयर सिप विकास तथा हिला सशक्तीकरण कार्यक्रम’ सार्वजनिक गरिएको हो । पर्यटन विकाशका लागि रामधुनी, चतरा, वराहक्षेत्र, सुर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने लक्ष्य राखिएको छ ।
कोसी नदिमा जल बिहार, जल यातायात र कोसी किनारमा सूर्यास्तको मनोरम दृश्यावलोकनको व्यवस्था मिलाइने कार्यक्रममा उल्लेख छ । कोसी किनारमा होटेल रेस्टुरेन्ट लगायत घोडाघोडी, फिसिङ, स्याण्डबाथ र स्याण्ड भलिबलको प्रवर्द्धनमा जोड दिइने भएको छ ।
वराहक्षेत्रको दुर्गम मानिएको सुर्यकुण्ड चियाबारी क्षेत्रमा सडक सञ्जालका विकास गरी ठाकुरबारिबाट श्रीलङ्का टप्पु जोड्ने झोलुङ्गे पुल निर्माण गरिने भएको छ । ‘एक वडा एक गौरवका योजना’ र ‘एक वडा एक खेलमैदान’ र हरेक वडामा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने भएको छ ।
कोसी कटान र जङ्गली जनावर नियन्त्रण गर्ने देखी अव्यवस्थित बसोबास समाधानका लागि समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
Discussion about this post