सन्तोष मेहता / बिराटनगर । प्रदेश नम्बर १ काे राजधानी स्थित विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा आज बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो । प्रमुख कोइरालासहित उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतसहित १९ वटै वडाका वडाध्यक्षहरुको उपस्थितिमा बसेको बैठकले बर्खे विदामा कटौती गर्ने गरी ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिनुभयो । त्यस्तै अविरल वर्षाका कारण नगरका विभिन्न क्षेत्रहरु डुबानमा परेको र डुबानको प्रकोप अझ बढ्ने सम्भावना रहेकाले आमनागरिकको सुरक्षाका लागि सामुदायिक, संस्थागत र परम्परागत विद्यालयहरुसहित सामुदायिक भवनहरुलाई आवासका लागि व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । महानगरको विपद व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानका अनुसार बैठकले वडाध्यक्षहरुसँग समन्वय गरी डुबानको निकासका लागि पानी खोल्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।
Discussion about this post