काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाको २२औँ साधारणसभा उद्घाटन गर्दै मन्त्री गुरुङले आफ्नै पालामा पत्रकारिता क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधान गर्ने बताए ।
पत्रकार समाज रुपान्तरणको मुख्य अङ्ग भएकाले रचनात्मक तरिकाबाट जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै उनले पत्रकारले समाजमा सही सूचना प्रवाह गर्न आफ्नो कलम अघि बढाउनुपर्ने बताए । आगामी वर्षको नीति तथा कार्यक्रमका लागि प्रतिनिधिमूलक ढङ्गबाट पत्रकारलाई छलफलमा बोलाई कार्यक्रम अघि बढाउने उनले जानकारी दिए ।
विगतका वर्षमा जस्तै आगामी दिनमा पत्रकारले आफ्नो हकअधिकार स्थापित गर्न आन्दोलन गर्नुपर्ने अवस्थाको कानुनी रूपमा नै अन्त्य गरिने उनको धारणा थियो । हाल पाँच करोड रुपैयाँ रहेको पत्रकार कल्याणकारी कोषका लागि पाँच करोड थपेर १० करोड रुपैयाँ बनाएर बहुवर्षीय कार्यक्रमका रूपमा अघि बढाउने पनि मन्त्री गुरुङले जानकारी दिए ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाले पत्रकार उपचार कोषका लागि सो शाखालाई १५ लाखको चेक हस्तान्तरण गरेको छ । नगर प्रमुख विद्यासुन्दर शाक्यले चेक हस्तान्तरण गर्दै समाज रूपान्तरण लागि मुख्य भूमिका निर्वाह गर्ने पत्रकारलाई सहयोग गर्न पाउँदा आफू खुसी रहेको बताए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा कलम चलाएका अग्रज पत्रकारलाई पुरस्कार वितरण एवं सम्मान गरिएको छ । सम्मान पाउनेमा राजेन्द्र स्थापित, शम्भु श्रेष्ठ, बलराम थापा, निर्मला शर्मा, देवेन्द्र चुँडाल, विश्वराज किरात, इन्द्र रिजाल, निरोधराज पाण्डे, ज्ञान उदास, ईश्वरीप्रसाल वाग्ले, टिवी विरही, गोपाल बुढाथोकी, दामोदरप्रसाद दवाडी र मानध्वज लामा रहेका छन् । कार्यक्रममा पत्रकारिता नामक स्मारिकाको विमोचना गरिएको थियो ।
Discussion about this post