काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी -नेकपाको विवाद टुंगोमा पुर्याउन ढिलाई गरेको बताएका छन्।
कांग्रेसले रुपन्देहीकोे बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘निर्वाचन आयोगले पनि ढिलाई गर्नु रहस्यमय बन्दै गएको छ। आयोगको भूमिकामा पनि शंका देखिन्छ।’
संसद् विघटन भएको ६ महिनामा चुनाव गराइसक्नु पर्ने भएपनि आयोगलाई चासो नै नभएको देउवाको भनाइ छ। ‘आयोगले चुनावको कार्यतालिका ल्याउनुपर्ने हो। तर, आयोगले ढिलाई गरेपछि शंका गर्ने बेला आएको छ। आयोगले अदालतको निर्णय कुर्ने होइन।’
देउवाले नेकपाको विवाद पनि आयोगले छिटो टुंग्याउनुपर्नेमा जोड दिए। नेकपाको झगडा हेर्न आफूहरुलाई फुर्सद नभएको समेत उनले बताए।
‘नेकपाको झगडाप्रति कांग्रेसलाई कुनै रुचि छैन। अहिले मुलुक गम्भीर संकटमा पुगेको छ’ उनले भने, ‘कांग्रेसको काँधमा जनताका अधिकार स्थापित गर्ने जिम्मेवारी आएको छ।’
उनले जुलुसले प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय नगर्ने जिकिर पनि गरे। ‘जुलुस हेरेर निर्णय हुँदैन। अदालतलाई यो गर त्यो गर भन्न मिल्दैन’ उनले भने, ‘अदालतको निर्णयलाई कांग्रेसले स्वीकार गर्छ।’ उनले अदालतभन्दा ठुला जनता भएको पनि बताए।
Discussion about this post