सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घको नवौं वार्षिक साधारण सभा उवासको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश सभा सदस्य राजकुमार ओझा थिए । उनले सुन्दरहरैंचा उवासको नेतृत्व निर्वाचनमा गए पनि आपसमा फाटो देखिन नहुने बताउँदै निर्वाचितहरुलाई सबैले सहयोग गर्नुपर्ने अवश्यकता भएको बताए । उनले नगरको आर्थिक गतिविधिलाई ध्यान दिएर व्यापार व्यवसायीको हक हितका लागि सुधार मूलक काममा लागि पर्नु पर्ने उल्लेख गरेका थिए ।कार्यक्रममा सुन्दरहरैंचा उवासका अध्यक्ष नवराज चापागाईंले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा समितिका संयोजक अर्जुन गजुरेलले लेखा प्रतिवेदन तथा कोषाध्यक्ष हरि कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उवासको साधारण सभा कार्यक्रममा नगर उप प्रमुख धनमाया तामाङ , प्रदेश सासद लोकप्रसाद संगौला , मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा , उद्योग वाणिज्य संघ उर्लाबारीका अध्यक्ष प्रीतम खड्गी , नेपाली कांग्रेसका महासमिति सदस्य ललित श्रेष्ठ, नेकपाका जिल्ला सदस्य सुरेन्द्रबहादुर थापा , सुन्दरहरैंचा उवासका पूर्व अध्यक्ष भोलेश्वर दुलाल लगायतले समसामयिक विषय बस्तुको बारेमा मन्तव्य व्यक्त गरेको थिए ।
साधारण सभाको उद्घाटन सत्रमा बोल्ने अधिकांश वक्ताले सुन्दरहरैंचा उद्योग वाणिज्य संघको पहलमा भएका कामका कारण आर्जन भएको प्रतिष्ठालाई जोगाइराख्न अनुरोध गरेका थिए । सुन्दरहरैंचालाई नेपालकै काहीं नभएको बन्द निषेधित क्षेत्र घोषणा गरी त्यसलाई कार्यान्वयन गर्न सफल हुनु हाम्रो पक्ष भएको बताए । साथै नगर क्षेत्रभित्र बनेका तथा बनिरहेका अन्तर्राष्ट्रिय स्तरका सार्वजनिक शौचालय लगायतका कारण नगरको प्रतिष्ठा बढेको हुनाले त्यसलाई कायम राख्नुपर्ने वक्ताहरुको धारणा रहेको थियो ।
कार्यक्रममा विभिन्न उद्योगी ,व्यवसायी , वित्तीय संस्थाका प्रतिनिधि , जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । साधारण सभाको कार्यक्रममा सुन्दरहरैंचा उवासका प्रथम उपाध्यक्ष कृष्णप्रसाद रिजालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन महासचिव सन्तोष वान्तवाले गरेको थियो । शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वको लागी निर्वाचन हुने भएको छ ।
Discussion about this post