विराटनगर / मोरङको रतुवामाईमा बोक्सीको आरोपमा एक वृद्धामाथि मरणासन्न हुने गरी सामूहिक कुटपिट गरिएको छ । एउटै परिवारका पाँच जनाले मिलेर निर्घात कुटपिट गर्दा रतुवामाई नगरपालिका–२ डोरीयाकी ६० वर्षीया वृद्धाको अवस्था गम्भीर बनेको प्रहरीले जनाएको छ । थाममा बाँधेर अमानवीय हिसाबले गरिएको आक्रमणबाट घाइते भएकी वृद्धाको अनुहार, हात, खुट्टा, ढाड लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । शुक्रबारराति १० बजेतिर भएको घटनामा घाइते भएकी उनलाई उपचारका लागि कोसी अस्पताल विराटनगरमा भर्ना गरिएको छ । गम्भीर अवस्थाकी उनी बोल्न र घटनाका बारेमा बताउन सक्ने अवस्थामा नरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
कुटपिटपछि विभिन्न अङ्गबाट निस्किएको रगत वृद्धाले लगाएका कपडामा समेत लागेको छ । उठ्न र बोल्नसमेत नसकेर थला परेकी उनलाई अर्कैले उठाइदिनु पर्छ । कुटपिट र आक्रमणबाट वृद्धा बेहोस बनेको देखेपछि श्रीमानले प्रहरीलाई घटनाका बारेमा जानकारी दिएका हुन् ।
उनीमाथि ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईंले मिलेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिट गर्नेमध्ये भीमलाल, जितनलाल र लखनलाल एउटै परिवारका दाजु–भाइ हुन् । लक्ष्मीप्रसाद उनीहरुका भतिज र हैरानी भीमलालकी छोरी हुन् ।
हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग भएको विवादको रिसईबीलाई लिएर बोक्सीको आरोप लगाउँदै वृद्धामाथि सामूहिक आक्रमण गरिएको प्रहरीले जनाएको छ । राति घरमा सुतिरहेका बेला गनगाईं परिवारका सदस्य वृद्धालाई लिन घरमै पुगेका थिए । उठाएर लग्दै जितनलालको घरनजिकको गाई बाँध्ने गोठ ९पाली०मा पु¥याएर थाममा बाँध्दै निर्घात कुटपिट गरेर बेहोस बनाई छाडिदिएको वृद्धाका श्रीमानले प्रहरीलाई बताएका छन् । उनका अनुसार बोक्सी रहेको र टुनामुना लगाईदिएर बिरामी बनाउने गरेको भन्दै श्रीमतीमाथि गनगाईं परिवारका सदस्यले पटकपटक दुरव्यवहार गर्ने गर्थे । श्रीमानलेघटनामा संलग्नविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले लखनलाल र हैरानीलाई पक्राउ गरेको । उनीहरुविरुद्ध बोक्सी आरोपको कसूरमा मुद्दा चलाउन अनुसन्धानका लागि अदालतबाट आइतबार म्याद थप गरिएको डीएसपी राईले बताए । घटनामा संलग्न अन्य तीन जना फरार छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।
बोक्सीको आरोपमा भन्दा पनि जग्गाको सिमानालाई लिएर भएको विवादमा वृद्धामाथि कुटपिट भएको वडा अध्यक्ष किरणसिंह गनगाईंले बताए । जग्गा विवादमा कुटपिट भए पनि घटनालाई मोडेर बोक्सी आरोपमा परिणत गरिएको उनको दाबी छ । घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएकाले निको भएर वृद्धा घर फर्किएपछि गाउँमै राखेर घटनालााई मिलाइने वडा अध्यक्ष गनगाईंले बताए । उनले वृद्धामा पहिल्यैदेखि रहेको मानसिक समस्याका कारण यस्तो घटना निम्तिएको दाबी गरे ।
Discussion about this post