विराटनगर / कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि प्रदेश १ सरकारले लक्षणसहितका बिरामीको उपचारका लागि एक सय ८० बेडको अस्पताल तयारी अवस्थामा रहेको बताएको छ ।
सोमबार कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रको अवलोकनपछि प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले अस्पताल तयार गरिएको बताएकी हुन् । अस्पतालमा सङ्क्रमितको उपचारका लागि जनशक्तिको पनि व्यवस्थापन गरिने उनले बताइन् ।
मन्त्री राईले सीमा नाकामा आवश्यक सर्तकता अपनाउनका लागि निर्देशन दिइएको बताइन् । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले सङ्क्रमणको दर बढेकाले उपचारको प्रवन्ध मिलाइएको बताए ।
चैत २० पछिको १० दिनको अवधिको सङ्क्रमण दर बढेको बढेको बताउँदै उनले सतर्कता अपनाइएको बताए । सङ्क्रमण दर बढेसँगै अस्पताल, आइसोलेसन केन्द्रहरूलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका सचिव कार्कीले बताए । सतर्कताका लागि प्रदेशस्तरीय कोरोना व्यवस्थापन समितिको बैठक बस्ने उनले बताए ।
Discussion about this post