पारस सुवेदी / इटहरी । फोहोर व्यवस्थापन सहित बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने योजना सहित सुनसरीको इटहरीमा निर्माणाधिन फोहोर प्रशोधन केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगे पनि सञ्चालनमा चुनौती देखिएको छ ।
इटहरी उपमहानगरपालिकाले सम्झौता अनुसार काम नगरेका कारण निर्माण सम्पन्न भएपनि सञ्चालनमा चुनौती देखिएको हो ।
केन्द्र सञ्चालनका लागि इटहरी उपमहानगरपालिका , बैकल्पीक उर्जा केन्द्र र वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालि विच निर्माण देखि विस वर्ष सम्म वेस्ट एण्ड इन्भारो मेनेजमेन्ट प्रालिले सञ्चालन गर्ने सहमति भएको थियो ।
फोहोर व्यवस्थापनका विषयमा गरिएको सम्झौतामा केन्द्र निर्माण हुने इटहरी १० नम्बर वडा क्षेत्रमा स्थानीयवासीका लागि खेल मैदान ,स्मसान घाट ,बाटो , वाल निर्माण गर्ने सहमति भएपनि उपमहानगरपालिकाले सम्झौता अनुसार काम नगरेको वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालिका अध्यक्ष मानध्वज मोक्तानले गुनासो गरे ।
अध्यक्ष मोक्तानले नगरपालिकाले सम्झौता अनुसारको निर्माणका कार्य अहिले सम्म सुरु समेत नगरेको कारण केन्द्र निर्माण भएपनि स्थानीयको विरोधका कारण सञ्चालनमा कठीनाई हुने अवस्था आउने वताए । उनले स्थानीयले सहमति नअनुसार भौतिक पुर्वाधार विकास नगरिदिए सञ्चालनमा अवरोध गर्ने चेतावनी दिदै आएको जानकारी गराए ।
दुई वर्ष अघि फोहोर व्यवस्थापन सहित बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने गरी सम्झौता भए बमोजिम प्रशोधन केन्द्र निर्माण कार्य गर्दै आएको वेस्ट इनभारोले निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी असार देखि सञ्चालनमा ल्याउन सकिने जानकारी दिएको छ ।
इटहरी उपमहानगरपालिकाका २०वटै वडाबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्दै प्रशोधन गरि बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने गरि साडे १३ करोड लागतमा निर्माण सम्पन्न गर्ने गरि काम भई रहेको वेस्ट एण्ड इनभारोका प्रवन्धक भरत गिरीले वताए ।
उनले प्रशोधन केन्द्र निर्माण सम्पन्न नहुदाँ सम्म फोहोर व्यवस्थापनका लागि नगरपालिकाले स्थान व्यवस्थापन गर्ने भनिएपनि उपमहानगरपालिकाले उपलव्ध गराएको हासपोसा सामुदायिक वन क्षेत्रमा फोहोर फ्याक्दा स्थानीयले विरोध जनाउदै आएको गुनासो गरे ।
उनले खुल्ला फोहोर फ्याक्दा विभिन्न किसिमका समस्या हुने तर्फ मध्यनजर गर्दै आफुहरुले नै स्काभेटरको प्रयोग गरेर पुर्दै आएको समेत गिरीले जानकारी दिए ।
फोहोर व्यवस्थापनका लागि त्रिपक्ष विच भएको सम्झौता अनुसार प्रशोधन केन्द्रका लागि आवश्यक पर्ने मेशिनका लागि ४० प्रतिसत बैकल्पीक उर्जाले उपलव्ध गराउने सहमति अनुसार केही रकम उपलव्ध गराई सकेको छ ।
प्रशोधन केन्द्र निर्माण कार्यमा खटिएका इन्जिनियर निराजन सिहंले गुणस्तरिय काम भई रहेको वताए । उनले अन्य ठाउँमा समेत यस्तै प्रकारको फोहोर प्रशोधन केन्द्र निर्माण भई रहेको जानकारी दिए ।
प्रशोधन केन्द्र निर्माण भई सञ्चालनमा आएपछि प्रत्येक दिन ३० टन फोहोर हालेर ८ सय केजी बायोग्यास र ६ टन प्रागारिक मल उत्पादन गर्न सकिने छ ।
Discussion about this post