इनरुवा । प्रदेश नं. १ को सप्तकोसी नदीको पूर्वी तटबन्धका स्परहरुको मर्मत कार्य सुरु भएको छ ।
बिहार सरकार जलसंसाधन विभागले पूर्वी तटबन्धका कुशाहा सव डिभिजन, मधुवन सव डिभिजन, राजाबास सव डिभिजन, चक्रघट्टी सव डिभिजन क्षेत्रमा पर्ने स्परहरुको मर्मतकार्य थालेको हो ।
मधुवन सव डिभिजन अन्तर्गत २३.७८ र राजाबास सव डिभिजन २४.१०, २४.४५, २५.२५, २९.८० नम्बरको स्परको मर्मतकार्य फगुनदेखि नै सुरु भएको राजाबास सवडिभिजनका स्थानीय कर्मचारी गोपाल राईले जानकारी दिए ।
गतवर्षको बाढीले पूर्वी तटबन्धका स्परहरुमा धक्का दिएपछि स्परहरुलाई मजबुत बनाउन स्परको मर्मत थालिएको छ । पानीको लेबलदेखि २ मिटर माथि सम्म ४ लेयर जाली हालिएको छ । एउटा जाली ६० सेन्टिमिटरको हुन्छ । स्परको अगाडि १२ मिटरसम्म जाली र साइडमा ७६ मिटर, अफ्साइडमा ३८ मिटरसम्म ढुङ्गाको जाली हालिएको गोपाल राईले बताए ।
गोपालले भने “चक्रघट्टीको ठाकुरबारीमा रहेको स्परहरुमा १३ हजार जाली हाल्ने काम भइरहेको छ ।”
प्रकाशपुरको २४.१० स्परमा १ हजार २ सय ५० पिस ढुङ्गा जाली हाल्ने काम भईरहेको स्थानीय कर्मचारी गोपाल राजभर चौधरीले बताए ।
सप्तकोसीको २५.२५ स्परमा भेटिएका कोशी गाँउपालिका वार्ड नं. २ का सत्यनारायण यादवले भने, “अब पहिलाको जस्तो डर छैन । वालुवा, ढुङ्गाले बनेको स्परमा यत्रो ढुङ्गा जाली पानीको सतहदेखि हालेको छ । यसले गर्दा पनि स्पर कटान हुने डर छैन ।
कोशी योजना बिराटनगरका सम्पर्क तथा भू आर्जन अधिकृत सन्तोष लिम्बुले भने “प्रत्येक वर्ष कटानको अवस्था हेरेर पुरानो ठाँउ र नयाँ ठाँउमा मर्मतको काम हुदै आएको छ । कोशी सम्झौता हुँदा कार्यकारी अधिकार भारतीय पक्षकै हुने, सवै योजनाहरुमा उनीहरुले नै लगानी गर्ने र निर्माण गर्ने अधिकार उनीहरुलाई नै छ । परामर्श दिने र अनुगमन गर्ने अधिकार मात्र नेपाललाई छ ।”
कोशी प्रोजेक्ट अन्तर्गत चक्र्रघट्टी सव डिभिजन, राजाबास सव डिभिजन, मधुवन सव डिभिजन, कुशाहा सव डिभिजनले कोशी ब्यारेज देखि चतरा सम्म हेर्दै आएको छ । स्थानीय भिम कार्की भन्छन्, “यस्तै गरी स्परको मर्मत हुदै गए कोसीको तटबन्ध मजबुत हुँदै जाने थियो । बर्खामा कटान र बाढीको त्रास हुने थिएन ।”
Discussion about this post