मुम्बई । कोरोना भाइरस नियन्त्रणबाहिर जाँदै गर्दा भारतीय धनाढ्यहरू विदेशतिर जान थालेका छन् । माग बढी भएपछि दुबई जाने हवाई भाडा १० गुणा बढेको छ । धनाढ्यहरु जहाज चार्टर्ड गरेर विदेशिएका छन् ।
दुबईले भारतबाट आउने उडान आइतबारबाट स्थगित गर्ने सूचना दिइसकेको छ । बेलायतलगायतका थुप्रै देशले भारतसँगको हवाई उडान स्थगित गरिसकेका छन् । उडान नभएपनि जहाज चार्टर्ड गरेरै पनि उड्न खोज्नेहरुको कारण जहाजकै अभाव भएको छ ।
भारत र दुबईबीच सातामा करिब तीन सय उडान हुन्छन् । तर, पछिल्ला दिनमा ती उडान पनि कम भए । शुक्रबार र शनिबारका उडानमा मुम्बईबाट दुबईसम्मको यात्राको भाडादर भारु एक लाखसम्म पुगेको थियो ।
मुम्बईबाट दुबईसम्मको उडानका लागि १३ सिटको जहाज चार्टर गर्न ३८ हजार अमेरिकी डलर र ६ सिटको जहाज चार्टर गर्न ३१ हजार अमेरिकी डलर लाग्छ । एक्लै जहाज चार्टर गर्न नसक्नेहरू समूह मिलेर जान थालेका छन् ।
Discussion about this post