इनरुवा । सुनसरीमा समेत पछिल्लो समय कोरोना संक्रमण बढेसंगै नेपाल भारत सिमाक्षेत्रमा सुरक्षा अवस्था कडा गर्न निर्देशन दिएको छ ।
सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले नेपाल र भारत सीमाक्षेत्रमा ओहोरदोहोर गर्ने मानिसहरुलाई स्वास्थ्य मापदण्ड पुरा नगरी (माक्स) नलगाउने व्यक्तिलाई नेपाल प्रवेशमा रोक लगाउन सुरक्षा निकायलाई निर्देशन दिएको हो ।
छिमेकी मुलुक भारतमा कोरोना कहरको दोश्रो लहरमा आतंक मच्चाई रहेको कारण सुनसरीमा समेत कोरोनाको जोखिम बढ्दै गएको भन्दै सीमा क्षेत्रमा हुने ओहोर दोहोर कम गर्न सुरक्षा निकायलाई निर्देशन दिएको प्रजिअ ढकालले बताए ।
भारतको राजधानी दिल्ली लगायत प्रमुख शहरहरुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या बढेसँगै लुकी छिपी नेपाल छिर्ने सम्भावना उच्च रहेको भन्दै सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी सीमा सुरक्षा बलले उच्च सतर्कता अपनाएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल ४ नं. हेक्वा का प्रहरी उपरिक्षक माधव प्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै जिल्ला स्थित रहेको सम्पूर्ण औद्योगिक, प्रतिष्ठान कारखाना र इट्टा भट्टा समेतले भारतबाट आउने कामदार तथा कर्मचारीहरुलाई १४ दिन सम्म अनिवार्य क्वारेन्टिनमा राख्न र सोको अनुगमन सुरक्षा निकायले गर्ने कोभिड –१९ क्रेसिस म्यानेजमेन्ट सेन्टर सुनसरीको बैठकले समेत निर्णय गरेको छ ।
Discussion about this post