बर्जु / बर्जु गाउँपालिकाको कार्यालयले राष्ट्रिय अभियान अन्र्तगत संचालन गर्न लागिएको घटना दर्ता शिविरको तयारी पुरा भएको जनाएको छ । गाउँपालिकाकी सुचना अधिकृत सृजना क्षेत्रीका अनुसार १३, १४ र १५ गते संचालन गर्न लागिएको दर्ता शिविरको तयारी पुरा भएको छ । गाउँपालिकाले शिविर संचालन तथा सरल सेवा प्रवाहलाई मध्यनजर गर्दै आवश्यकता अनुसारको जनशक्ति परिचालन गरिएको समेत जनाएको छ ।
शिविर हरेक वडा कार्यालयमा संचालन हुने बताइएको छ । गाउँपालिकाले गाउँबासीलाई पायक पर्ने वडामा गई व्यक्तिगत घटना दर्ता गराउन आग्रह गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले शिविर मार्फत जन्म, मृत्यु, बिवाह,सम्बन्ध विच्छेद र बसाई सराई जस्ता व्यक्तिगत घटना दर्ता गराउन सकिने बताए । दर्ता शिविरमा सामाजिक सुरक्षा कार्यक्रम बारे समेत सेवा लिन सकिने घिमिरेले बताए । उनले घटना दर्ता अनिवार्य भएकाले जिम्मेबार नागरिकको दायित्व पुरा गर्न गाउँबासी सबैमा अनुरोध समेत गरेका छन् ।
Discussion about this post