इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताले गाउँपालिका क्षेत्रभित्र संचालन भई रहेका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमन थालेका छन् ।
उपाध्यक्ष मेहताले बिहिबार भोक्राहा नरसिंह गाउँपालिकाको निर्माधिन प्रशासनिक भवन निर्माण कार्यको स्थलगत अनुगमन गरेकी छिन् । उपाध्यक्ष मेहताले गाउँपालिका भित्र भैरहेको विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन आफू अनुगमनमा निस्किएको बताईन् । गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माणको काम कति सम्पन्न भयो, कति हुन बाँकी छ भन्ने जानकारी लिनका लागि यो अनुगमन गरिएको उनले जानकारी दिईन् ।
यस्ता खाले अनुगमन अब गाउँपालिकाको ८ वटै वडामा गर्ने तयारी भएको उनले जानकारी दिईन् । उनले यस्ता खाले अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । केही व्यक्तिहरुले विकास निर्माणको बिषयमा भ्रम सृजना गर्न खोजेको भन्दै उनले म आफैँ नै विकास निर्माणको कामवारे जानकारी लिन अनुगमनमा निस्किएको बताईन् ।
भोक्राहा नरसिंहको प्रशासनिक भवन निर्माण कार्यको अनुगमन पश्चात संचारकर्मीसँग कुराकानी गर्दै भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताले गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा कमसल सामाग्री प्रयोग गरिएको भनि भ्रामक प्रचारबाजीमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारिन् ।
Discussion about this post