इनरुवा । सुनसरीमा २१ देखि ३० वर्ष उमेर समूहका युवा सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय सुनसरीको तथ्याङ्क अनुसार संक्रमित मध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको संख्या बढी रहेको छ ।
उक्त उमेर समूहका हालसम्म २८ दशमलव ९ प्रतिशत संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, ३१ देखि ४० वर्ष उमेर समूह २३ दशमलव ६ प्रतिशत संक्रमित पाइएको छ । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँका अनुसार संक्रमति हुनेमा ४१ देखि ५० वर्ष उमेर समूह १६ दशमलव १ प्रतिशत रहेको छ । ५१ देखि ६० वर्ष सम्मका व्यक्तिहरु १२ दशमलव २ प्रतिशत संक्रमति पाइएको प्रसाईले बताए ।
त्यसैगरी जेष्ठ नागरिक तर्फ ६१ देखि ७० वर्षका व्यक्तिहरु ६ दशमलव ४ प्रतिशत कोरोना पोजेटिभ पाइएको जिल्लाको तथ्याङ्कले देखाएको छ ।
जेष्ठ नागरिक तर्फकै ७१ देखि ८० वर्षको उमेर समूह ३ दशमलव १ प्रतिशत संक्रमित रहँदा ८१ देखि ९० वर्ष उमेर समूह १ प्रतिशत र सो भन्दा माथिको उमेर समूह ० दशमलव १ प्रतिशत संक्रमित पाइएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयको तथ्याङकका आधारमा अहिलेसम्म कोरोना संक्रमित पाइएका १० वर्ष मुनिका बालबालिकाको संख्या ३ प्रतिशत छ । ११ देखि २० वर्ष उमेर समूह भने ५ दशमलव ६ प्रतिशत संक्रमित पाइएको उसले जनाएको छ ।
जिल्लामा हाल सक्रिय संक्रमितको संख्या २ हजार नाघेको जनाएको छ भने मृतकको संख्या ४० रहेको छ ।
Discussion about this post