इनरुवा । सुनसरीमा राष्ट्रिय परिचयपत्रको बिवरण दर्ता अभियान सघन रुपमा संचालन गर्ने हुने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको सरोकारबालाहरुसंगको अन्तरकृया कार्यक्रममा राष्ट्रिय परिचयपत्रको बिवरण दर्ता अभियान सघन रुपमा संचालन गर्ने तयारीबारेमा छलफल भएको छ । पहिलो चरणमा इनरुवा नगरपालिकाबाट राष्ट्रिय परिचयपत्रको बिवरण दर्ता अभियान सुरु गर्ने र त्यसपछि क्रमशः सघन रुपमा संचालन गर्ने निर्णय भएको जनाएको छ । कार्यक्रममा बिवरण दर्ता अभियनमा सरोकारबाला सम्पूर्णबाट साथ, सहयोग र समन्वयको अपेक्षा गरिएकोमा सरोकारबालाहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने कार्य, जिल्ला प्रशासन कार्यालयमा छुटै युनिट स्थापना गरी शुरू गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी इन्द्रवेद यादवले जानकारी दिए ।
यहाँका स्थानीय तहहरुसंगको समन्वय बैठक एव अन्तरक्रिया सम्पन्न गर्दै राष्ट्रिय परिचयपत्रको बिवरण दर्ता अभियान सघन रुपमा संचालन गर्ने जानकारी दिनुभएको छ । प्रजिअ यादवले जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख÷उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सुरक्षा निकाय, संचारकर्मी, राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभागको महानिर्देशक लगायतको उपस्थितीमा अन्तरकृया सम्पन्न भएको बताए ।
यादवका अनुसार राष्ट्रिय परिचय पत्रको उद्देश्य एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने, नागरिकका वैयक्तिक ,जैविक विवरणको संकलन,भण्डारण र उपयोग गर्ने, राष्ट्रिय परिचयपत्र व्यवस्थापन सुचना प्रणालीलाई राज्यबाट प्रवाह हुने सेवासँग आवद्ध गर्ने र नागरिकहरूलाई बहुउपयोगी राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने भएकाले सबैलाई सहभागीताका लागि आग्रह गरे ।
वहाँले राष्ट्रिय परिचय पत्रको फाइदाको बारेमा जानकारी दिदै प्रत्येक नागरिकलाई एक पृथक नम्वर सहित आफ्ना वैयक्तिक एवंम जैविक सूचना सहितका विवरण भएको अत्याधुनिक प्रविधियुक्त चिप्स सहितको एक नागरिक एक पृथक परिचय नम्वर सहितको परिचय पत्र भएकोले यसको प्रभावकारी कार्यन्वयनबाट मूलुक एवंम नागरिकलाई फाइदा हुने बताए ।
Discussion about this post