विराटनगर/ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी प्रदेश १ को अधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुँदैछ। प्रदेशको पदाधिकारीमा २१ जनाबीच प्रतिस्पर्धा हुनेछ।
जसमा नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुँदैछ। झापाका थापा कृष्णप्रसाद सिटौला समूहका हुन्। उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले समेत साथ दिएका छन्।
त्यस्तै, संस्थापन इतर पक्षबाट घिमिरे मैदान उत्रिएका हुन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल तथा डा। शेखर कोइराला पक्षबाट प्रतिस्पर्धामा उत्रिएका हुन्।
यस्तै, उपसभापतिमा गोविन्द ढुङ्गाना -केदार, टङ्क राई, रमेशजङ्ग रायमाझी र विश्वनाथ रिजालले प्रतिस्पर्धा गर्दै छन्। महामन्त्रीमा उमेश थापा, दीपेनकुमार श्रेष्ठ, पद्मसुन्दर पालुङ्वा र भूपेन्द्र राईको उम्मेदवारी परेको छ।
सहमहामन्त्रीमा महिलातर्फ अञ्जना ताम्ली, इन्दिरा थापा, प्रमिला गच्छदार र सीता कार्कीले प्रतिस्पर्धा गर्दै छन्। खुल्लातर्फ खड्गबहादुर फागो, मानबहादुर लिम्बू, विनोदकुमार बस्नेत, वीरकाजी राई, रोहितकुमार साह, राजकुमार कार्की र सुभचन्द्र राई बीच प्रतिस्पर्धा हुनेछ।
झापाबाट उत्तमबहादुर चौलागाईं, विमल आचार्य र हुकुमसिंह राईले सदस्यमा प्रतिस्पर्धा गर्दै छन्। उनीहरू तीनैजना झापाबाट सर्वाधिक मत पाएका महाधिवेशन प्रतिनिधि हुन्।
त्यसैगरी, झापाबाट सदस्यमा खड्गबहादुर धिमाल, शोभा श्रेष्ठ, भूपेन्द्रबहादुर ढुङ्गाना, फूलवती राजवंशी, रेगिना भट्टराई, ज्योति न्यौपाने, विनोद मेचेलगायत १२ जना बढीले प्रतिस्पर्धा गर्दै छन्।
Discussion about this post