काठमाडौं । कोरोनाताका ठमेल बजार सुनसान हुँदा पनि सडकछेउको उनको पसल कहिल्यै बन्द भएन । अहिले चहलपहल विस्तारै बढ्न थालेसँगै उनको व्यस्तता पनि आकाशिएको छ । त्यसैले छोराछोरीहरू पनि साविला खातुनसँगै पसलमै बस्छन् । ठमेलको सडकमै पसल थापेर साविलाले जिन्दगी चलाउन थालेको ३० वर्ष भयो । यो ३० वर्षमा मुलुकमा दुई ठूला राजनीतिक परिवर्तन भए । जनताले पञ्चायत फालेर बहुदल ल्याए, राजा फालेर गणतन्त्र । नजानेस ठमेल बजारमै के–के परिवर्तन भयो, उनको जिन्दगीमै कति उतारचढाव आए । तर आफ्नै कोखबाट जन्मिएका सन्तान अनागरिक भइरहनुको पीडाले साविलालाई पछ्याउन भने कहिल्यै छोडेन ।
५० वर्ष पुग्नै लागेकी खातुन, सर्लाहीबाट काठमाडौं आउँदा झण्डै २० वर्षकी थिइन् । काठमाडौं टेक्ने वित्तिकै दुःखजिलो गरेर जीवन गुजार्न थालेकाले उनलाई एक छाक खान र एकसरो लगाउन अरू कसैको भर पर्नु परेन । सन्तानको पढाइखर्च त्यही चोकछेउको सानो घुम्ती पसलबाटै धानिन्, अहिले पनि आम्दानीको स्रोत पसल मात्रै हो । यसमा उनलाई कुनै दुःखेसो पनि छैन । तर आफैंले यसरी दुःखसुख हुर्काएका सन्तानको नागरिकता आफ्नै नामबाट नबन्दा भने साविलालाई सारै नै नराम्रो लाग्छ । त्यसैले हर साँझ पसलबाट घर फर्किंदा दिनभरिको उज्यालो उनको अनुहारमा पनि ‘गोधूलि’ देखिन्छ, मन झन् अँध्यारो हुन्छ ।
Discussion about this post