विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढास्थित १४ वर्षीय निश्चल रायको रहस्मय मृत्युको घटनालाई प्रहरीले गम्भीरता नदेखाएको भन्दै संघर्ष समितिले चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । संघर्ष समितिले भोली मंगलबारदेखि चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत मंसिर २१ गते विद्यार्थीको प्रर्दशन, २४ गते बुढीगंगामा एक घण्टा चक्का जाम गर्नेछ । पीडित परिवारको मागलाई राज्यले सम्बोधन नगरेपछि मंसिर २७ गते चक्काजामलाई थप बढाएर लैजाने भएको छ । २७ मंसिरमा दुइ घण्टा चक्काजाम, २८ गते तीन घण्टा, पुस १ गते बुढीगंगा र विराटनगरको बजार बन्द र पुस २ गते मोरङ जिल्ला आमहड्ताल गर्ने संघर्ष समितिले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
बुढीगंगाको स्थानीय आवद्ध भएको संघर्ष समितिले उच्चस्तरीय छानविन समिति गठन गरि घटनाको सत्यतथ्य सार्वजनिक र दोषीलाई कारवाही गरिनुपर्ने, स्व। निश्चल रायलाई सहिद घोषणा गरिनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, शान्ति सुरक्षा सुव्यवस्थापन गरिनुपर्ने माग छ ।
कात्तिक २२ गते घर नजिकै खेलिरहेको बेला अचानक हराएका १४ वर्षे बालक निश्चलको २४ गते बिहान सिंघीया खोलामा शव फेला परेको थियो । हराएपछि पटक–पटक त्यस ठाउँमा खोजी गरिएको भएपनि फेला नपरेका बालक निश्चलको शव २४ गते बिहान पानीमा बग्दै गरेको अवस्थामा भेटिएको थियो । हराएकै दिन साँझसम्म बालक फेला नपरेपछि प्रहरीलाई खबर गरिएको भएपनि प्रहरीले खोजीका लागि आवश्यक गम्भीरता नदेखाएका कारण अपहरणमा परेका बालकको हत्या भएको आशंका परिवारले व्यक्त गर्दै आएका छन् । बालकको हत्या भएको महिना दिन बितिसक्दा पनि प्रहरी हत्याराको नजिक पुग्न नसक्नु र घटनाको यथार्थ पत्ता लगाउन असफल भएपछि स्थानीयहरु आक्रोशित बनेका छन् । उनीहरुले छिटोभन्दा छिटो बालक मृत्युको कारण पत्ता लगाउनुपर्ने, पोस्माटम रिपोर्ट सार्वजानिक गरिनुपर्ने माग राखेका छन् ।
स्थानीय संघर्ष समितिले यसअघि विराटनगरमा वृहत प्रदर्शन गर्दै मोरङ प्रहरीमा धर्ना, निमुवामा प्रदर्शन गरी इलाका प्रहरी कार्यालय नेमुवा अगाडि राजमार्गमा चक्काजाम गरिसकेका छन् ।श्रोतःहाम्रोमत
Discussion about this post