इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आज शुक्रबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भव्यताका साथ सम्पन्न भएको छ ।
पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले १६ दिनसम्म जिल्लाभर विशेष अभियान सञ्चालन गरिएकोमा सोही क्रममा भोक्राहा नरसिंह गाउँपालिकाले पनि ८ वटै वटाको विभिन्न गाउँघरमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरेकोमा शुक्रबार सम्पन्न गरिएको छ ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका कार्यवाहक अध्यक्ष पुनमकुमारी मेहताले हिंसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याँय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियान मार्फत आह्वान गरिन् ।
भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय महिला तथा गैरसरकारी संस्थाहरूसमेतको सहभागितामा महिला हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न गरेको पुनम कुमारीको भनाई छ ।
मेहताले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि सरकारले विभिन्न अभियान सञ्चालन गरिरहेको र सोही क्रममा आफूहरुले पनि अभियान चलाएको बताइन् ।
उनले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्नेमा जोड दिइन् । नागरिक समाजका तर्फबाट इन्सेकसंग आवद्ध मानव अधिकार समूहका भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष ममता उराँवले महिला हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँदै लैङ्गिक हिंसा अन्त्यका लागि सरकारले थप नयाँ कार्यक्रम ल्याउनु पर्नेमा जोड दिइन् ।
उराँवले भने–’हिंसा कसैले गर्नु हुँदैन, हिंसा सहिँदैन भनेर नै महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको हो ।’ दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्ने बताइन् ।
सहभागीहरूले मानव अधिकार सबैको लागि, महिला हिंसा अन्त्य गरौँ कुरा हैन काम गरौँ, खुलेर बोलौँ विभेद रोकौँ, महिला हिंसा रोकौँ लगायतको सावलमा जोड दिएका थिए ।
यसैगरी नेकपा एमालेका भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष रामकुमार मेहताले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानका सन्दर्भमा छोरी बचाउ, छोरी पढाउ अभियान ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा जनता समाजवादी पार्टीका भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले लैङ्गिक हिंसाको अन्त्यका लागि सबैको सहकार्यको खाँचो रहेको बताए ।
कार्यक्रममा सहभागी जनमत पार्टीका देवराम यादव मधेसीले हिंसा अन्त्यका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए । कार्यक्रममा बोल्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले महिलामाथि हिंसा नगर्ने, महिला हिंसाको उपेक्षा नगर्ने तथा हिंसाका घटनामा चुप लागेर नबस्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले कार्यक्रममा सहभागीहरूलाई समेत हिसाँ अन्त्यका लागि प्रतिवद्धताको पालना गर्न आग्रह गरेका हुन् ।
समापन कार्यक्रममा कार्यक्रममा जनता समाजवादी पार्टीका गाउँ समिति अध्यक्ष महेन्द्र यादव, नेकपा एमालेका गाउँ अध्यक्ष रामकुमार मेहता, काग्रेंसका देवनाराण मेहता, जनमत पार्टीका देवराम मधेसी, नेकपा माओवादी केन्द्रका हेमनारायण मण्डल, वडा अध्यक्षहरु रामचन्द्र यादव, राजेश्वरप्रसाद साह र प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता लगायतको उपस्थिती रहेको थियो ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
Discussion about this post