इनरुवा । सुनसरीका किसान यतिवेला गहुँ र मकैको बीउ छर्ने बेलामा रायासनिक मल नपाएर समस्यामा परेका छन् ।
समस्यामा परेका भोक्राहा नरसिंह गाउँपालिका वडा नं.३,६ र ८ का किसानहरु शनिबार सरकारको विरुद्धमा आन्दोलन सहीत चक्काजाम समेत गरेका थिए ।
उनीहरुले सरकारको विरुद्ध चर्को नाराबाजी गर्दै महेन्द्र राजमार्ग शनिबार करिब ३० मिनेट अवरुद्ध गरिएको स्थानीय ओमप्रकाश यादवले जानकारी दिए ।
किसानहरुले प्रयाप्त मल नपाउँदा गहुँ र मकैको उत्पादन न्यून हुने हो की भन्ने चिन्तामा उनीहरु छन् ।
उनीहरुलाई अहिले पनि पीर छ । दिनरात मेहनत गरेर लगाएको धानबाली बाढीले सखाप पारेपनि नत घर नत घाटको भएका छन् ।
बाढीले सखाप पारेको धान घर ल्याएपनि व्यापारीहरुले सस्तोमा धान खरिद गर्ने गरेको र आफुहरु धान बेच्न बाध्य बनेको स्थानीय किसानहरुको कथन छ ।
बाढीबाट समान्य क्षति भएको धानको मुल्य व्यापारीहरुले ५ सय देखी ८ सय रुपैँया प्रति ४० केजी खरिद गर्ने गरेको उनीहरुको भनाई छ ।
सस्तो मुल्यमा धान बेचेर भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ३ का किसान ओमप्रकाश यादव नजिकैको डिलरमा मल खरिद गर्न गए तर पाएनन् । दुई दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उनी निराश भएर रितो हात घर फर्किए । ‘गहुँको बीउ छर्ने बेला मल चाहिएपछि डिलर धाउँदासमेत एक बोरा मल पाइएन’, उनले भने, ‘धानको सिजनमा जसोतसो मल पाइएको थिएँ, अहिले त मल नै पाइएन । डिलरहरु चहार्दाचहार्दै निराश बनेको छु ।’ मकै र गहुँको बीउ छर्ने बेलामा मल नपाएपछि यसको उत्पादन न्यून हुने चिन्तामा यहाँको किसान रहेको उनको भनाइ छ ।
धानबाली भित्र्याएर मकै र गहुँ छर्ने तयारीमा रहेका कोशी गाउँपालिका–४ का नरेश मेहता पनि मल नपाएपछि निराश बनेका छन्। ‘मलका लागि गाउँको डिलरदेखि इटहरी उपमहानरपालिका स्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म धाएँ तर मल पाउन सकिन्’, उनले भने, ‘कृषि सामग्री कम्पनीको कार्यालयमा जाँदा गाउँको डिलरमा जानु भन्छ, डिलरमा जाँदा मल आएको छैन भन्छन् ।’ मल नपाएपछि मकै र गहुँबाली लगाउनै समस्या भएको उनको भनाइ छ ।
यो समस्या ओमप्रकाश र नरेशको मात्र होइन, सुनसरी जिल्लाको अधिकांश किसानको समस्या हो । धानबाली भित्र्याएपछि गहुँबाली लगाउने तयारीमा जुटेका किसान समयमा प्रयाप्त मल नपाएपछि निराश बनेका हुन् ।
सुनसरीको भोक्राहा नरसिंह,इनरुवा, हरिनगर, देवानगञ्ज, बर्जु र गढी गाउँपालिका लगायतका स्थानीय तहहरुका किसानहरुले प्रायः सबै जिल्लामा धानबाली पछि आलु, मकै र गहुँबाली लगाउने गरेका छन् । तर समयमा मागअनुसारको मल नपाउँदा किसानहरु वर्षेनी मार खेप्दै आएका छन् ।
कूल खेतीयोग्य जग्गामध्ये सुनसरी जिल्लाको विभिन्न स्थानीय तहमा करिब २५ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँवले जानकारी दिए । अधिकांश खेतीयोग्य जग्गामा धान काटीसकेको र मकै तथा गहुँबाली लगाउने बेला भइसके पनि समयमा मलखाद्य नपाउँदा किसान मारमा परेको उनको भनाइ छ । इटहरी स्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डीएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि किसानले ठूलो मार खेप्दै आएका छन् । सुनसरीमा वर्षेनी रासायनिक मलको माग बढ्दै जाने तर आपूर्ति भने घट्दै जान थालेपछि यस्तो अवस्था आएको कृषि सामग्री कम्पनी लिमिटेड इटहरीका प्रमुख लक्ष्मण यादवले बताए । एकातिर सुनसरीमा रासायनिक मलको माग बढ्दै गएको छ भन्ने अर्कोतिर जिल्लामा रासायनिक मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी सुनसरीमा वर्षेनी मलको आपूर्ति घट्दै गएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड इटहरीका प्रमुख यादवका अनुसार कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि कोटा निर्धारण गरी स्थानीय तहमा रहेको सहकारी संस्थाका डिलरहरु मार्फत किसानलाई मल वितरण गर्दै आएको जनाएको छ । ‘हामीलाई जति मल प्राप्त भएको छ, त्यसलाई कोटा बमोजिम स्थानीय तहको सिफारिसमा वितरण गर्दै आएका छौँ’, प्रमुख यादवले भने, ‘मल आए लगतै बिक्री वितरण सुरु गरेका छौँ, तर मागबमोजिम मल उपलब्ध गराउन नसकिएकाले सबै किसानले पाउने अवस्था छैन ।’ बाली सघनता र खेतीयोग्य क्षेत्रफलको आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी स्थानीय तहको सिफारिसका आधारमा सहकारी संस्थाका डिलरहरुलाई मलखाद्य वितरण गर्दै आएको प्रमुख चौधरीको भनाइ छ ।
डीएपी र युरिया मलको वर्षेनी आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी लहानले झन्डै आधा मूल्य बराबरको रासायनिक मल मात्र बिक्री गरेको छ । गहुँबाली लगाउने बेला भएकाले युरिया र डीएपी मलको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मुल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमा नाकामा भएको कडाइलगायतका कारण सिरहामा युरिया र डीएपी मलको आभाव हुने गरेको उनले बताए । डीएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटकपटक पत्राचार गरे पनि वर्षेनी आपूर्ति घट्दै गएकाले समस्या परेको प्रमुख यादवको भनाइ छ ।
Discussion about this post