सन्तोष मेहता/विराटनगर। मुख्यमन्त्री नियुक्त भएको डेढ महिनापछि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सरकारी निवास प्रयोग गर्न थाल्नु भएको छ । राई गत कात्तिक १५ गते मुख्यमन्त्री बन्नु भएको हो । उहाँले आज बिहानदेखि सरकारी निवास प्रयोग गर्न थालेका हुन् । उहाँ पहिलो पटक बिहान सुनसरी‒मोरङ सिँचाई आयोजनाको भवनमा सर्नु भएको हो । प्रदेशको मुख्यमन्त्री नियुक्त भए पनि डेढ महिनासम्म उहाँ अन्यत्रै बस्दै आउनु भएको थियो । मुख्यमन्त्री नियुक्त भएपछि राई २ दिन होटलमा बस्नु भयो । त्यसपछि विराटनगरस्थित नेपाल राष्ट्र बैंकको गेष्ट हाउसमा बस्न थाल्नु भएका उहाँ आजदेखि सरकारी निवासमा बस्न थाल्नु भएको हो । राईले बाहिर बस्दा हुने खर्च कटौती गर्नका लागि सरकारी निवास प्रयोग गरेको बताउनु भयो । प्रदेशका अन्य मन्त्रीलाई पनि चाँडै सरकारी निवासको व्यवस्था मिलाइने उहाँको भनाइ छ । राईले प्रयोग गर्न थालेको सरकारी निवासमा प्रदेश १ का पहिलो प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ बस्नु भएको थियो । सुनसरी‒मोरङ सिँचाई आयोजनाको भवनमा बनाइएको निवासमा केही समय तुम्बाहाङपछिका प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ पनि बस्नु भयो । तर निवास मन नपरेको भन्दै ‘प्यासी’ अन्यत्र सरेपछि त्यहाँ पूर्वसामाजिक विकास मन्त्री उषाकला राई बस्नु भएको थियो । राई मन्त्रीबाट हटेपछि निवास खाली थियो ।
Discussion about this post