विराटनगर । दाजु–भाइको कुटाइबाट घाइते भएका मोरङको केराबारी गाउँपालिकाका एक जना किशोरको करिब अढाई महिनापछि बिहीबार मृत्यु भएको छ । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले ७२ दिनअघि कुटपिट गरिएका केराबारी गाउँपालिका–९ का १७ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको जानकारी दिए । घटना गत असोज १८ गतेको हो । जिसीका अनुसार दसैंका बेला डाइस (लङ्गुर–बुर्जा) खेलाएको विषयमा विवाद हुँदा सञ्जयलाई केराबारी–९ कै ३२ वर्षीय यज्ञ परियार र २५ वर्षीय सुजन परियारले कुटपिट गरेका थिए । यज्ञ र सुजन एउटै परिवारका दाजु–भाइ हुन् ।
कुटाइबाट घाइते भएका सञ्जयलाई सुरुमा उपचारका लागि मोरङको विराट चोकस्थित सुकुना सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि थप उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइयो । उपचारपछि डिस्चार्ज भएर घर फर्किएका उनको बिहीबार बिहान मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
कुटपिटबाट घाइते भएका किशोरको मृत्यु भएपछि यसअघि गाउँमै मिलाइएको घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका अनुसार मृतक सञ्जयलाई स्वास्थ्य सम्बन्धी पुरानै समस्या पनि थियो । मृतकको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको एसपी जिसीले बताए । कुटपिटमा संलग्न दुवै जनालाई प्रहरीले पक्रेको छ । पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने जानकारी एसपी जिसीले दिए ।
Discussion about this post