सन्तोष मेहता/विराटनगर । प्रतिबन्धित औषधिसहित मोरङको रतुवामाई नगरपालिका‒२ बाट हिजो साँझ तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले एक युवती र दुई जना युवालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार मोरङको उर्लाबारी नगरपालिका‒६ का २१ वर्षीय अजित राई, १८ वर्षीय रोशन कार्की र १९ वर्षीया मनिषा कुमाललाई प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको छ । उनीहरुलाई सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) डोरियाबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट प्रतिबन्धित औषधि बोकेर शंकास्पद रूपमा नेपालतर्फ आउँदै गरेका बेला पक्राउ परेकाहरुको साथबाट एक हजार पाँच सय ट्याब्लेट ट्रामाडोल बरामद भएको जानकारी एसपी पौडेलले दिए । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिजुवामा बुझाइएको उनको भनाइ छ । नेपालमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको ट्रामाडोल लगायतका औषधिलाई लागुऔषधका रूपमा प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
Discussion about this post