काठमाडौं– निर्वाचन हुने समय आउन थालेपछि स्थानीय तहले चालू आर्थिक वर्ष (२०७८/०७९) का विकासका योजना आगामी फागुनभित्रै सम्पन्न गर्ने भएका छन् । स्थानीय तहका जनप्रतिनिधिको यस वर्ष अन्तिम कार्यकाल भएको र चैतभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले आगामी फागुनभित्रै सबै योजना सम्पन्न गर्ने तयारीमा स्थानीय तह जुटेका छन् ।
गत वर्ष पुस, माघदेखि मात्र सुरु गरिने कतिपय योजना यस वर्ष असोजदेखि नै कार्यान्वयन भइरहेका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले चालू आवमा गर्नुपर्ने सबै योजना र कार्यक्रम फागुनभित्रै सम्पन्न गर्न पालिकालाई यसअगाडि नै आग्रह गरिसकेका छन् ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष एवं गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले अहिले सबै स्थानीय तहले चालू आवको योजना फागुनभित्र सम्पन्न गर्ने गरी योजना बनाएर काम गरिरहेको बताए ।
उनका अनुसार अहिले पालिकाभित्रका प्राविधिक प्रमुख, योजना शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायत व्यक्तिको टोली निर्माण गरी उपभोक्ता समिति र ठेकेदारसँग नियमित रूपमा समन्वय सहजीकरण गर्ने काम भइरहेको छ । कर्मचारीले गरेका कामको नियमित रूपमा अनुगमन गर्ने काम सबै जनप्रतिनिधिले गरिरेहका छन् ।
काठमाडौँको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले स्थानीय तहले निर्वाचनअगाडि नै विकास निर्माणका सबै योजना सम्पन्न गर्ने गरी धमाधम काम गरिरहेका छन् । स्थानीय तहले स्थानीय निर्वाचनलाई लक्षित गरी गत असारमा सम्पन्न गाउँ र नगर सभाले बजेट निर्माण गर्दा नै वितरणमुखी कार्यक्रम बनाएका छन् । अहिले सोही कार्यक्रम कार्यान्वयनका चरणमा छन् । चालू आवका लागि पालिकाभित्र भएका अपाङ्गता, अशक्त, विपन्न समुदायका नागरिकको जीविकोपार्जन कार्यक्रम, दलित परिवारका बालबालिकाको प्राथमिक कक्षासम्मको अध्ययनका लागि पुस्तक, पोसाक, कापी, कलम र खाजा खर्चका लागि दलित छात्रवृत्ति राहत रकम कार्यक्रम सञ्चालन गरेका छन् ।
सहरी क्षेत्रमा कौसी खेतीका लागि मल, उन्नत बीउ, प्लास्टिकका आरी वा गमला वितरणका लागि कौसीखेती प्रवद्र्धन सञ्चालन गरेका नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएका छन् ।
नेपाल नगरपालिका सङ्घका महासचिव एवं धादिङको नीलकण्ठ नगरपालिका प्रमुख भीम ढुङ्गानाले स्थानीय तह नागरिकको सुखदुःखको सरकार भएकाले पालिकाले योजना बनाउँदा स्थानीय माग र आवश्यकताका आधारमा निर्माण गर्ने गरिएको बताए ।श्रोतःपालिका खबर
Discussion about this post