काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । देउवा शनिबारदेखि आइसोलेसनमा बसेको बालुवाटार सचिवालयले जानकारी दिएको हो ।शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उनी आइसोलेट निर्णयमा पुगेको सचिवालयका एक सदस्यले बताए । केही दिन आइसोलेसनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै उनी सार्वजनिक कार्यक्रममा निस्कने बताइएको छ ।दुई दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा र प्रचण्ड सँगै रहेका थिए । भेटघाट भएको भोलिपल्टै प्रचण्डमा कोरोना पुष्टि भएपछि देउवालगायतका अन्य नेताहरू पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । त्यसो त देउवा शनिबार बिहान एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
थप ९४४ जनामा कोरोना संक्रमण
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो । यस्तै, सोही अवधिमा २९७ जना निको भएका छन् । पछिल्लो २४ घन्टामा कसैको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पिसिआर विधिबाट भएको परीक्षणमा ८ लाख ३१ हजार ७४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ८९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १८ हजार ६ जना निको हुँदा कुल ११ हजार ६०२ जनाको मृत्यु भएको छ । हाल देशभर ६ हजार १४० सक्रिय संक्रमित छन् ।स्रोतः पालिका खबर
Discussion about this post