इनरुवा । अहिलेको बजारमा प्लास्टिकका सामग्री प्रयोग गर्ने बढेकाले सुनसरीका मरिकको मौलिक पेशा बाँसको सामग्री बनाउने र विक्रि गर्ने कार्यमा समस्या भएको छ । बजारमा मरिकको मौलिक बाँसको सामग्री विक्रिमा समस्या भएकाले सुनसरीको हरिनगर गाउँपालिकाका मरिकहरुको जिवनस्तर वर्षौदेखी उस्तै रहेको गुनासो बाहिर आएको छ । मरिक बस्तीका स्थानीयहरु बाँसको सामग्री बनाएर विक्रि गर्ने र छाक टार्ने गरेकाले शिक्षामा पहँुच नभएको कारण जिवनस्तर उस्तै रहेको हो । आधुनिकता र प्रविधिको प्रयोग हुन थालेकाले बाँसको सामग्रीको माग बजार घटेकाले पनि उनिहरुको जिवनस्तर उस्कन नसेकको स्थानीय विरेन्द्र मरिकले बताए । मरिकका अनुसार हिन्दु सामुदायको छठ पर्वको बेलामा अलिक बढी आम्दनी भएपनि वर्षभरी घरको गर्जोटान र छाक टार्ननै धौधौ भएको छ । यहाँ प्रायः छठपर्वमा लक्षित गरेर बाँसको सामग्री बनाउन मरिक समुदायका मानिसहरु अरु समयको तुलनामा बढी व्यस्त भएपनि जाडो, गर्मी र बर्षाको समयमा उनीहरुको छाक टार्न समेत समस्या हुने गरेको अर्का स्थानीय चलित्र मरिकले बताए ।
सुनसरीको इनरुवा– २ का राम मरिकले सरकारी कार्यालयको सरसफाईको जिम्मा पाएर खान पुगेको बताउदै यदी बाँसको सामग्री मात्रैमा भर गर्दा भोकै मर्ने अवस्था हुने गरेको बताए ।
उता हरिनगर गाउँपालिका २ को रामनगर भुटहाका मरिकले छठका बेला दिनरात बाँसको सामग्री बनाउन व्यस्त भएपनि यतीबेला एकआधवटा मात्रै कोनिया, ढाकी, नाङ्लो लगायतका बाँसका सामग्री बनाउने गरेका छन् ।
आफूहरुको शिक्षामा पहुँच नभएको र अरु शिप समेत नभएकाले पुर्खौली पेशा बाँसको सामग्री बनाउने काम रहर नभई बाध्य भएर गरेको हरिनगरका वीरेन्द्र मरिकले जानकारी दिए । मरिकका अनुसार छठ नजिएको बेला बाँसको सामग्रीको माग अत्यधिक हुने गरेको भएपनि अहिले आफूहरुले बताएको सामग्री बजारमा विक्रि नहुने अवस्था रहेको छ । गाउँगाउँबाट बाँस किनेर ल्याई बाँसको सामग्री बनाउने गरेको भएपनि बजारमा प्लास्टिक, पितल, स्टिलका सामग्री प्रयोग गर्ने बढेकाले मरिकको मौलिक बाँसको सामग्री विक्रिमा समस्या भएको अर्का स्थानीय गीता मरिकले बताए ।
छठपर्वमा प्रायः बाँसकै सामग्री बढी मात्रामा आवश्यक पर्छ त्यसैले बढी माग हुन्छ तर अरु बेला त्यसै बस्नुपर्ने अवस्था रहेको बताए । बाँसको साम्रगी अरु बेला कमै मात्र बिक्री हुने गरेकाले आफूहरुको पुखौली पेशा संकटमा परेको मरिकको भनाई छ । हरिनगर भुटहाका मरिकले रु १५० देखि ३०० रुपैयाँसम्ममा बाँस खरिद गरी सामग्री बनाइ स्थानीयवासीलाई बेच्न आफूहरु लागिपरेको सुनाउदै अफ सिजनामा परिवार चलाउन पनि समस्या भएको स्थानीय राधा मरिकले दुःख पोखिन् । सनुसरीको इनरुवा, हरिनगरको भुटाहा, घुस्की, बसन्तपुर, कोशीको लौकही, पश्चिम कुशाहा, हरिपुर श्रीपुर, देवानगञ्जको मध्यहर्षाही, राजगञ्ज सिनुवारी, भोक्राहा नरसिंह,रामधुनीको झुम्का, डुम्राहा, बकलौरीका मरिक समेत छठ बाहेकका समयमा बाँसको सामग्रीको विक्रि न्युन रहेको बताउदै आएका छन् । मरिक समुदायको जीवनस्तर उकास्न बाँसको सामग्री मात्रै नभइकन त्यसको विकल्प वा व्यावसायीकरणमा ध्यान दिनुपर्नेमा सरोकारबाला निकायको जोड छ । उनीहरुले बाँसको सामग्रीको व्यवसायीकरण गर्न सहयोगको अपेक्षा राज्यबाट गरेका छन् ।
Discussion about this post