कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवको अहिले निकै अलोचना भइरहेको छ । किसानले मल पाएनन्, पिडित किसानले राहत पाएनन, किसानले बीउ पाएनन, किसानले उखुको बक्यौता रकम पाएनन् भन्दै मन्त्री यादवमाथि आरोप लगाउने गरेको छ । तर कृषि मन्त्रालयका तर्फबाट यी सबै कामलाई अगाडि बढाए पनि सरकारका अन्य निकायले समयमा सो काम नगरि दिँदा कृषि मन्त्री बलिको बोका बन्नुभएको छ ।
असोजको अन्तिम हप्ता आएको बेमौसमी वर्षाका किसानको बालीनाली खासगरी धानमा ठूलो क्षति गर्यो । त्यसबाट पीडित भएका किसानले राहत पाउनुपर्छ भनि कृषि मन्त्रालयले मन्त्रीपरिषद् निर्णय गरायो । किसानलाई पाँच अर्ब रुपियाँ राहत दिने मन्त्रीपरिषद्ले निर्णय गरेको थियो ।
त्यो राहत वितरण गर्ने जिम्मेवारी गृहमन्त्रालयलाई दियो तर अहिलेसम्म वितरण गरेको छैन । कृषि मन्त्री यादवले गृहमन्त्री बालकृष्ण खाँणलाई पटक पटक भेटेर राहत वितरणका लागि आग्रह गर्नुभएको छ तर अझै त्यो वितरण गरिएको छैन । तर त्यसका लागि कृषि मन्त्री यादवको आलोचना गरिरहेको छ । त्यस्तै, मलको समाधानका लागि कृषि मन्त्रालयले भारतसँग जीटुजीको माध्यमबाट मल खरिद गर्ने सम्झौता गर्यो । सम्झौतापत्रमा हस्ताक्षरका लागि सबै कुरा तयार पारिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला हस्ताक्षर गर्ने पनि तय भइसकेको थियो तर भ्रमण स्थगित भएपछि हस्ताक्षर हुनसकेन् ।
अब हस्ताक्षर कसरी हुने त्यसका चाँडै व्यवस्था मिलाउन कृषि मन्त्री यादवले प्रधानमन्त्री देउवालाई पटकपटक भन्दै आउनु भएको छ तर उहाँले त्यसमा कुनै चासो लिनुभएको छैन । कृषि मन्त्रालयले मात्र चाहेर जीटुजीका लागि हस्ताक्षर हुने अवस्था छैन । त्यसका लागि प्रधानमन्त्री कार्यालयको माध्यमबाट परराष्ट्र मन्त्रालयमार्फत हस्ताक्षरको प्रकृया पुरा हुनेछ तर त्यसमा न प्रधानमन्त्री कार्यालयले चासो लिएको छ न प्रधानमन्त्री कार्यालयले नै । कृषि मन्त्रालयले पटकपटक प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयलाई ताकेता गरिरहेको छ तर काम अगाडि बढेको छैन । तर कृषि मन्त्री यादव आलोचनाका शिकार हुनुभएको छ ।
Discussion about this post