इनरूवा । सुनसरी जिल्लाको इनरुवा मालपोत कार्यालय जग्गा कित्ताकाटमा पनि पहिलो देखिएको छ । भूमी व्यवस्था तथा अभिलेख बिभागले दिएको तथ्यांकका आधारमा पौष महिनामा सुनसरीमा देशकै सबैभन्दा बढी जग्गा प्लटिङ्ग भएको हाे ।घरजग्गाको लिखतमा देशकै पहिलो नम्बरमा रहेको मालपोत कार्याालय सेटिङमा चल्ने गरेका छन् । खेतियोग्य जमिनमा प्लटिङ्ग गर्न नदिने मापदण्ड भएता पनि जग्गा माफियाहरूले स्थानीय तह, मालपोत र नापीका कर्मचारी मिलेर बिभिन्न सेटिङ्गमा जग्गालाई टुक्राउने र सस्तोमा किनेर महँगोमा बेच्ने गरेका छन् ।
पौष महिनामा भएको कित्ताकाटको तथ्यांकका आधारमा भुमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीले जग्गावालासंग मोटो रकम लिएर १ हजार २ सय ९१ कित्ता जग्गालाई ३ हजार २ सय ३ कित्तामा टुक्राउन सहमति दिएको छ । सो महिनामा इनरुवा मालपोतबाट १ सय ९ कित्तालाई टुक्राएर ३ सय १३ बनाउने दाखिल खारेज गरिएको छ भने जग्गा बाँडफाँड तर्फ ९ कित्ता जग्गालाई १८ कित्तामा बाँडफाँड गरिएको छ ।
सुनसरी जिल्लाको अर्को मालपोत कार्यालय धरानले १ सय ४३ कित्तालाई टुक्राएर ३ सय ७१ कित्ता बनाउन सहमति दिएको छ । सो कार्यालय बाट ६ वटा कित्तालाई १२ वटा बनाउने दाखिल खारेज गरिएको छ ।
सरकारले अंशवण्डा बाहेक अन्य प्रयोजनका लागि खेतियोग्य जमिन कित्ताकाट नगर्नु भनेको भएता पनि सेटिङ्गका आधारमा मोटो रकम लिएर यस्ता कामहरु हुने गरेको पाइन्छ । अंशवण्डा बाहेक एक कित्तालाई बढिमा दुई कित्ता बनाउन सकिन्छ भने सो भन्दा माथि कित्ताकाटमा अहिले रोक लगाइएको छ । तथापि मालपोत कार्यलयको गतिविधि हेर्ने हो भने त्यस्तो देखिँदैन् ।
मालपोत कार्यालय इनरुवा पछि बढि कित्ताकाट हुनेमा मालपोत कार्यालय बेलबारी देखिएको छ । बेलबारी नगरपालिकामा रहेको मालपोत कार्यालयले पौष महिनामा १ हजार दुई सय ४४ कित्ता जमिनलाई ३ हजार १ सय ३९ कित्ता बनाउन स्वीकृति दिएको छ ।
तीन वटा मालपोत कार्यालय रहेको मोरङ्ग जिल्लाको बिराटनगर मालपोत कार्यालयबाट ४ सय ३ कित्ता जग्गालाई ९ सय १९ कित्तामा बिभाजन गरिएको छ भने रंगेली मालपोतबाट दुई सय दश कित्ता जग्गालाई चार सय ८६ कित्तामा बिभाजन गरिएको छ ।
तेस्रो नम्बरमा रहेको झापा जिल्लाको भद्रपुर मालपोत कार्यालयबाट एक महिनामा १ हजार २ सय २९ कित्ता जमिन कित्ताकाट गरेर २ हजार ९ सय ९ कित्तामा टुक्राटुक्रा पारिएको छ । झापा जिल्लाको अर्को मालपोत कार्यालय दमकबाट ५ सय ६९ कित्ता जग्गालाई १ हजार २ सय ८९ टुक्रा बनाइएको छ ।
Discussion about this post