म बिबाहपछि पहिलोपटक माइतीघर आउदा कुर्था सरवाल लगाउने इच्छा गरे, आमाले स्पष्ट रुपमा
इन्कार गर्नुभयो,”ज्वाइको घरमा बुहारीले कुर्था सरवाल लगाको मन पराउँदैनन भने यहाँ आउँदा लगाउनै पर्छ भन्ने छैन”। र तेरो बुबालाई पनि तैंले कुर्था सरवाल लगाको मन पराउनुहुन्न । बिहे पछि छोरी मान्छेलाई सारिमा नै सुहाउँछ । मन मारेर माइत बसुन्जेल सारिनै लगाएर बसे ।
केहि समयपछि भाइको बिबाह भयो , मैले देखे बुहारीले माइतबाट आउदा आफ्नो कुर्था सरवाल पनि लिएर आएकी थिइन् । राम्रो लाग्यो , उनको इच्छालाई उनको आमाले स्विकार्नु भएछ ।
मेरो इच्छा त पूरा भएको थिएन उसबेला माइतीघर बसुन्जेल साडिमानै बसेकी थिए ।
केहि समयपछि जब म अचानक माइत आउनुपर्ने काम परेर आएकी थिए । त्यहाँ मैले देखे आमाले बुहारीलाई भनिरहनुभएको थियो “भान्साघरमा सारी लगाएर शिर ढाकेर काम गर्नलाई आवश्यक छैन । जुन कपडामा आफुलाई सजिलो लाग्छ त्यही कपडा लगाए हुन्छ।” उहाँले आफै बुहारीलाई सल्लाह दिदै हुनुहुन्थ्यो । मनैमन म खुशी भए । त्यसपछि मैले आमा एक्लै हुँदा आमालाई भने: ” तपाईं आफ्नो बुहारीलाई कुर्था सरवाल लगाउन दिनुहुन्छ अनि छोरिलाई कुर्था सरवाल लगाउन इन्कार गर्नुहुन्छ किन?”
आमाले सम्झाउँदै भन्नुभयो: ” उ मेरो बुहारी हो, उनको मनको इच्छा पूरा गर्नु मेरो कर्तव्य हो । आज मैले उनको ख्याल राख्छु उनलाई सम्झाउछु , भोलि उनले पनि हामिलाई बुझेर हाम्रो ख्याल राख्छिन ।
तँ अर्काको घरको बुहारी होस् , त्यहाँका मान्छेको भावनाको ख्याल राख्नु तेरो कर्तव्य हो ।
यदि मैले तँलाई उनिहरुको विरुद्धमा जानको लागि साथ दिए भने घर भाडिन सक्छ । पहिला आफ्नो गुणले सबैको मनमा ठाउँ बनाउ , त्यसपछि आफ्नो मनको इच्छा उनीहरुको सहमतिमा पूरा गर ।
म बुहारीलाई त्यस्तो गर्दिन पहिला सोध्छु तिमीलाई जे लगाएर बस्दा सजिलो लाग्छ त्यही लगाउनको लागि सल्लाह दिन्छु । हेर छोरी एकदिन सबैकुरा बदलिन्छ ।
समय बदलिँदो छ , जे लगाए पनि शरीर ढाकिने कपडा लगाए हुन्छ ।।
Discussion about this post