नेपाल सरकारले २०७९ सालमा शनिबार बाहेक ४३ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले वर्ष २०७९ का लागि सार्वजनिक गरेको बिदा सूचीमा शनिबारबाहेक थप ४३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बिहीबार मन्त्रालयले राजपत्र उक्त सूचना प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म मुलुकभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि हुने बिदाको सूची राखेको हो ।
वर्ष २०७९ मा ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरि ९५ दिन सार्वजनिक बिदा हुनेछ ।
बिदा हुने दिनहरूमा २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि विदा, चार दिन काठमाडौं उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ६ दिन दशैं विदा, पाँच दिन तिहार विदा, पाँच दिन सबैका लागि दिवस विदा तथा एक दिन अपांगता भएका व्यक्तिका लागि मात्र विदा गरेर ६ दिन दिवस बिदा दिइएको छ ।
यस्तै ३ दिन जन्म जयन्ती बिदा दिइएको छ । जसमा बुद्ध जयन्तीका दिन सबैका लागि विदा भए पनि अरू २ वटा जयन्ती भने सम्बन्धित धर्मावलम्बीका लागि मात्र बिदा दिइएको छ ।
दसैं विदा असोज १६ गते फूलपातीदेखि २१ गते द्वादशीसम्म ६ दिन हुने भएको छ । तिहार बिदा भने कात्तिक ७ गतेदेखि ११ गतेसम्म ५ दिन हुने भएको छ ।
सरकारले विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा विदा दिने भएको छ ।
त्यसैगरी, बुद्ध जयन्तीमा देशभर सबैलाई लागूहुने गरी विदा दिने र फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्तीमा सम्बन्धित धर्मालम्बीहरुलाई मात्रै विदा दिइने भएको छ ।
त्यस्तै, गौरापर्व, महाशिवरात्री र अन्तर्राष्ट्रिय अपांगता दिवस भने शनिबार परेका छन् ।
गृह मन्त्रालयले सार्वजनिक विदासँगै पर्व एवम सट्टा विदा तथा कार्यालय समय पनि निर्धारण गरेको छ ।
मन्त्रालयले आगामी वर्षमा वैशाखदेखि कार्तिक १५ सम्म माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तथा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय हाजिर हुने र छुट्ने समय तोकेको छ ।
शुक्रबारको भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय समय तोकिएको छ ।
विदेशस्थित नेपाली नियगले भने सम्बन्धित मुलुकका सार्वजनिक बिदालाईसमेत ध्यानमा राखेर बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्ने जनाइएको छ ।
नेपाल सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारले आ – आफ्नो प्रदेशको धर्म, संस्कृतिलाई ध्यानमा राखेर घोषणा गरेका वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका संघीय कार्यालयमा समेत सार्वजनिक बिदा गरिनेछ ।
तर प्रदेश सरकारले आफ्नो प्रदेशभरी लागू हुनेगरी ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा र काठमाडौं उपत्यकाका ३ जिल्लाको हकमा गृह मन्त्रालयले निर्णय गरे बमोजिम हुनेछ ।
Discussion about this post