सन्तोष मेहता / विराटनगर ।
प्रदेश नम्बर १ काे राजधानी विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक विजय यादव आज बिहान मृत फेला पर्नु भएको छ । अस्पतालनजिक डेरा बसेको घरको कम्पाउण्डभित्र बिहान ७ बजेतिर उहाँ मृत फेला परेको प्रहरीले जनाएको छ । शव अहिले घटनास्थलमै छ । सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका अन्दाजी २७ वर्षीय डा. यादव विगत ४ वर्षदेखि विराटनगर–४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलाको कोठा भाडामा लिएर डेरा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । घोप्टो परेको र नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको कोठाबाट मुनिको भुइँमा उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार डा. यादवको मृत्युको कारण खुल्न सकिरहेको छैन । यद्यपि घटनास्थलको प्रकृति हेर्दा हामफालेर उनले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । श्रेष्ठले शव पोस्टमार्टमका लागि पठाएर घटनाको थप अनुसन्धान अघि बढाइने बताउनु भयो । अनुसन्धानपछि मृत्युको कारण यकिन हुने उहाँको भनाइ छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार डा. यादव मेडिकल अफिसरका रुपमा नोबेलको हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत हुनुहुन्थ्यो । उहाँ ४ वर्षअघिदेखि नोबेलमा कार्यरत रहेको दाहालले बताउनु भयो । उहाँका अनुसार नोबेलले हिजो मोरङको कटहरीमा आयोजना गरेको स्वास्थ्य शिविर सञ्चालनका लागि पनि डा. यादव पुग्नु भएको थियो । शिविर सकिएपछि अरु चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीसँगै फर्किएर आफ्नो डेरातर्फ लाग्नु भएका यादव बिहान मृत फेला परेको जानकारी दाहालले दिनुभयो ।
Discussion about this post