सुनसरी । आसन्न स्थानीय तहको निर्वाचनमा इनरुवा नगरपालिकाभित्र दोस्रो धेरै मतदाता रहेका मुस्लिम समुदायको प्रतिनिधित्व नेपाली कांग्रेसले नगराएको भन्दै वडा नम्बर १० को जल्पापुरमा मंगलबार नेपाली कांग्रेसको झन्डा जलाइएको छ ।
प्रमुख उपप्रमुखलगायतका पदका लागि मुस्लिम समुदायको निर्णायक भोट बैंक मानिन्छ । यस पटक प्रमुख दल मध्ये नेकपा एमालेमा उपप्रमुखको उम्मेदवार नै मुस्लिम समुदायको बनाइएका कारण जनमत त्यतै ढल्किने प्रक्षेपण गरिएको छ ।
चुनावमा मुस्लिम समुदायको प्रतिनिधित्वका लागि कांग्रेस लगायतका प्रमुख दललाई स्थानीय युवाहरुले दबाब दिएका थिए । तर, गठबन्धनको भागवन्डाका नाममा मुस्लिम समुदायलाई उपेक्षा गरिएको भन्दै विरोध भएको छ ।
मुस्लिम समुदायको मतलाई आफूतिर तान्नेगरी एमालेले इनरुवाको उपप्रमुख पदमा सहजादी प्रवीणलाई मैदानमा उतारेको छ । प्रमुख पदमा सरोज पोखरेललाई एमालेले उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेसले सकारात्मक आश्वासन दिँदै आएपनि पछिल्लो समय टिकट वितरणमा मुस्लिम समुदायलाई अपहेलना गरेको थियो । कांग्रेसले वडाहरुमा समेत मुस्लिम समुदायलाई न्यायिकरुपमा अटाउन नसकेको आरोप इनरुवाका अगुवा मुस्लिमहरुले लगाइरहेका छन् ।
इनरुवा–२ मा बाक्लो उपस्थिति रहेको मुस्लिम समुदायबाट एक जना पनि नसमेटिँदा त्यस वडाका कांग्रेस सचिब बहाब अन्सारी सहित आधा दर्जन कांग्रेसका वडा पदाधिकारीहरुले कांग्रेसको साधारण सदस्यता समेतबाट राजीनामा दिइसकेका छन् । आज मंगलबार पनि सो वडाका ८५ जना काग्रेसका कृयाशिल सदस्यले सामुहिक राजीनामा दिएका छन् ।
एमालेले इनरुवाको नगर उपप्रमुखमा मुस्लिम समुदायकी सहजादी प्रवीणलाई अगाडि सार्दै वडा नम्बर ९ र १० मा वडा अध्यक्षसमेत दिँदै निर्वाचन आयोगमा मनोनयनसमेत दर्ता गराइसकेको छ ।
१० हजारभन्दा बढी मुस्लिम मतदाता रहेको इनरुवाको यो निर्णायक मतसंख्या हो । ‘कांग्रेसले मुस्लिम अल्पसंख्यकलाई महत्व दिएन । हामीले कांग्रेसलाई जिताउँदै आएका थियौं। तर, अब परिणाम फरक हुन सक्छ’ मुस्लिम अगुवा एवम् व्यवसायी नौसाद आलमले भने,‘ इनरुवाका अधिकांश मुस्लिम कांग्रेस रहेपनि कांग्रेसले न्याय दिन नसक्दा इनरुवामा मुस्लिम समुदायमा कांग्रेसको हैसियत सकिएको छ।’
इनरुवामा मुस्लिम नागरिक समाजका अगुवा आमिर अली खानले कांग्रेसबाट न्यायिक उम्मेदवारी मुस्लिम समुदायले नपाउनु दुःखद रहेको भन्दै अन्य दलहरुबाट उम्मेदवार बनेकालाई सहयोगको अपिल समेत गरिसकेका छन् ।
Discussion about this post