सन्तोष मेहता/विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का २४ वर्षीया धर्मबहादुर थापालाई वन्यन्तुको अंगसहित विराटनगरबाट पक्राउ गरिएको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ बाट प्रहरीले पक्राउ गरेर थापालाई कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाएको हो । कार्यालयका सहायक वन अधिकृत प्रमेश्वर पासवानका अनुसार चित्तल प्रजातिको मृगको दुईवटा सिङसहितको टाउकाको छाला भारतको जोगवनीतर्फ लिएर जाँदै गरेको अवस्थामा प्रहरीले थापालाई पक्राउ गरेर पाइएको छ । थापाले बोकेको झोलाबाट गत आइतबार साँझ बरामद भएको वस्तु परीक्षण गर्दा चित्तल प्रजातिको मृगको सिङ र टाउकाको छाला रहेको पुष्टि भएको पासवानले बताउनु भयो । उहाँका अनुसार थापाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही अघि बढाउन अनुसन्धान भइरहेको छ । थापाले भने उक्त वस्तु आफ्नो घरमा वर्षौदेखि रहेको र भारत जोगवनीका योगेन्द्र साहलाई उपहार स्वरूप लगिदिएको बताउनु भएको छ ।
Discussion about this post