मान बहादुर ठकुल्ला/ टीकापुर / कैलालीको टीकापुरमा स्थानिय तहका उम्मेदवार संग ककस कार्यक्रम सम्पन्न भएको छ ।टीकापुर जेसीजकाे आयोजनामा ककस कार्यक्रम सम्पन्न भएको हाे । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारहरुसंग ककस कार्यक्रम सम्पन्न भएको छ ।
ककस कार्यक्रममा बोल्दै मेयर र उपमेयरका उम्मेदवारहरुले टीकापुरको सम्वृद्धिको मुद्दालाई प्राथमिकता दिएका छन । उनीहरुले सम्भावना भएर पनि टीकापुरमा जनताले अपेक्षा गरे अनुसारको विकास हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन । सबै उम्मेदवारहरुले जनताको चहाना रअपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
ककस कार्यक्रममा उम्मेदवारहरुले भूमिहिन सुकुम्बासीको समस्यालाई समेत प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । सामाजिक सद्भाव, औद्योगिक क्षेत्रको विकास, ब्यापार व्यवशायमा सुधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि लगायतका मुद्दा लाई समेत उम्मेदवारहरुले अघि सारेका छन । ककस कार्यक्रममा मेयरका उम्मेदवारहरु गठबन्धनका तर्फबाट नवराज रावल, एमालेका श्याम खत्री, नागरिक उन्मुक्तिका रामलाल डगौरा थारु, मौलिक जरोकिलोका राजुकुमार बिष्ट र स्वतन्त्र उम्मेदवारद्वय ललित थापा र लोकबहादुर बुढाक्षेत्रीले आफ्ना धारणा सहित प्रतिबद्धता जाहेर गरेका थिए ।
त्यसैगरि उपमेयरका उम्मेदवारहरुमा गठबन्धनका तर्फबाट खडक शाह, एमालेका उपमा केसी, नागरिक उन्मुक्तिका उल्कादेवी विक, राप्रपाका सरस्वती बोहरा, मौलिक जरोकिलोकी हिरादेवी थारु र स्वतन्त्र मायादेवी जैशीले आफ्ना धारणा राखेका छन ।
ककस कार्यक्रममा मेयर पदका उम्मेदवारहरुलाई उपस्थित नागरिकले प्रश्न राखेका थिए । नागरिकहरुले मेयरका उम्मेदवारलाई टीकापुरको आगामी कार्ययोजना लगायतका बारेमा प्रश्न राखेका थिए ।मेयर र उपमेयरका उम्मेदवारहरुले जित हार जेसुकै भएपनि टीकापुरको विकासका लागि निरन्तर लागिपर्ने प्रतिवद्धता गरेका छन । उनीहरुले लिखित रुपमै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन ।
ककस कार्यक्रमका प्रमुख अतिथि टीकापुर जेसीजका संस्थापक अध्यक्ष प्रा.डा. जगतबहादुर सिँह रावलले राम्रो उम्मेदवार चुन्ने बेला आएको बताए । उनले जनताले टीकापुरको समग्र विकासलाई प्राथमिकतामा राखेर मतदान गरि उम्मेदवार छान्नु पर्ने बताए ।कार्यक्रम टीकापुर जेसीजका अध्यक्ष टोप प्रकाश विकको अध्यक्षतमा सम्पन्न भएको थियो । कार्यक्रममा कार्यकारीणी उपाध्यक्ष रुपक बिष्टले स्वागत गरेका थिए भने सञ्चालन महासचिव मंगल साउँदले गरेका थिए ।
Discussion about this post