सुनसरी । सुनसरीमा स्थानीय तहमा निर्वाचनका सामग्री मतदान केन्द्रमा पठाउने कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने नङमा लगाउने मसी, स्ट्याम्प प्याड, लाहा, मैनबत्ती लगायतका विभिन्न सामग्री मतदान केन्द्रमा पठाउने कार्य सुरु गरिएको सुनसरीका प्रमुख निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
आज सोमबार सुनसरीका देबानगन्ज गाउँपालिका, धरान उप महानगरपालिका, बराह नगरपालिका, बर्जु र हरिनगर गाउँपालिकामा सामाग्री पठाउन सुरु गरिएको तथा भोलि थप सात ओटा पालिकामा मतदान अधिकृतलाई निर्वाचन सामाग्री हस्तान्तरण गरिने प्रमुख निर्वाचन अधिकारी पौडेलले बताए ।
निर्वाचनका लागि तयार पारिएको सामग्री टाढाका मतदान केन्द्रमा आज र नजिकका मतदान केन्द्रमा वैशाख २७ गते निर्वाचन सामग्री पठाइने पौडेलले बताए ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम पनि दिइएको प्रमुख निर्वाचन अधिकारी पौडेलले बताए ।
मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिए पछि के के गर्ने लगायत विषयमा तालिममा सिकाइएको थियो ।
विभिन्न स्थानका मतदान केन्द्रको अनुगमन गरिएको र थप स्थानको अनुगमन पनि तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
प्रजिअ यादवले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा अवस्था मजबुत बनाइएको भन्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे । मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य रुपमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ यादवले बताए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाले हरेक मतदान केन्द्रमा प्रहरी परिचालित हुने भएकाले ढुक्क हुन आग्रह गरे ।
Discussion about this post