काठमाडौं । निर्वाचन आयोगले वडा सदस्यका लागि गरिने मतदानमा रहेको द्विविधाबारे प्रष्ट पारेको छ । प्रत्येक स्थानीय तहको प्रत्येक वडाबाट निर्वाचित गर्नुपर्ने दुईजना वडा सदस्यको पदमा मतदान गर्ने तथा मतगणना गर्ने सम्बन्धमा द्विविधा भएको गुनासो आएपछि आयोगले यसबारे प्रष्ट पारेको हो ।
“प्रत्येक स्थानीय तहको वडा सदस्यहरू मध्ये महिला वडा सदस्य र दलित महिला वडा सदस्य बाहेकका अन्य वडा सदस्य पदमा दुईजना उमेदवार निर्वाचित हन्छन्,” आयोगले भनेको छ, “स्थानीय तह सदस्य निर्वाचनको लागि व्यवस्था भएको मतपत्रमा दुई जना निर्वाचित गर्नुपर्नेछ । वडा सदस्यको लागि छैटौं कोलममा एक र सातौं कोलममा दुई निर्वाचन चिह्नको व्यवस्था भएकाले सो दुबै कोलममा निर्वाचन चिह्न भएका मध्ये आफूले चाहेका दुई उमेदवारहरुको निर्वाचन चिह्नमा मत संकेत गर्न सकिन्छ । यसरी मतदान गर्दा एउटै कोलमको दुईवटा चिह्नमा वा फरक फरक कोलमको एक/एकवटा चिह्नमा एक/एक मत संकेत गर्न सकिनेछ ।”
छैटौं र सातौं कोलमको मतपत्र एउटै पदको मतपत्र भएको र सो मतपत्रबाट दुईजना उमेदवारमात्र निर्वाचित हुने भएकाले छैटौं र सातौं कोलममा भएका चिह्नमध्ये कुनै दुईभन्दा बढी निर्वाचन चिह्नमा मत संकेत गरिएमा सो पदको पूरै मत बदर हुने आयोगले प्रष्ट पारेको छ ।
दुईभन्दा बढी निर्वाचन चिह्नमा मत संकेत भएमा उमेदवार नभएको निर्वाचन चिह्न भए पनि सो पदको पूरै मत बदर हुनेछ ।
Discussion about this post