सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजादले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । गाउँपालिकाको नव निर्वाचित अध्यक्ष अजमलले आज भोक्राहा नरसिंह गाउँपालिकामा अध्यक्षको कुर्सी सम्हाल्न लागेका हुन् ।
शुक्रबार जिल्ला समन्वय समिति सुनसरीको कार्यालयमा गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजादले सपथ ग्रहण गरेका हुन् । मूख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका न्यायाधीश कैलास प्रसाद सुवेदीले गाउँपालिकाका अध्यक्ष अजमललाई सपथ ग्रहण गराएका हुन् ।
आज २ बजे गाउँपालिकाको उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यतालिका रहेको गाउँपालिकाले जनाएको छ । सपथ ग्रहण लगत्तै सम्बन्धित वडा कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने छन् । उनीहरुलाई गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजादले सपथ गराउने छन् ।
सपथ ग्रहणपछि बोल्दै भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल आजादले यसअघि प्रतिबद्धता गरेका विषयहरु पूरा गर्नेमा आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । उनले भोक्राहा नरसिंह गाउँवासीको अपेक्षा अनुसार काम गर्ने बताउनुभयो ।
सपथ ग्रहण कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सन्जय सिंह थापा, निर्वाचन अधिकृतको कार्यालय भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख निर्वाचन अधिकृत मोहन बहादुर अधिकारी लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
Discussion about this post