काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई हप्ताभित्रै १ हजारभन्दा धेरै कर्मचारीहरूको सरुवा गरेको छ ।
सामान्य प्रशासन मन्त्रालयले बिहीबार अन्तर स्थानीय तहका ८ सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा व्यापक पार्दै आए पनि उसले सरुवासम्बन्धी कुनै मापदण्ड बनाउन नसक्दा कैयौं सरुवा विवादित बन्दै आएको छ ।
उच्च राजनीतिक नेतृत्वको दबाब, मन्त्रीका सूची तथा अन्य उच्च कर्मचारीको सोर्सफोर्स सरुवाको मुख्य आधार बनाउने गरिएको छ ।
सामान्य प्रशासन मन्त्रालयले शुक्रबार मात्रै विभिन्न मन्त्रालय र निकायका २४ सह–सचिवको काज सरुवा गरेको छ ।
मन्त्रालयले करीव दुई हप्तामा २ सय प्रमुख प्रशासकीय अधिकृत सरुवा गरिसकेको छ ।
भादौ २३ गते मात्र मन्त्रालयले २३ प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृत सरुवा गरेको थियो ।
गृह मन्त्रालयले भदौ २१ गते १२ सह–सचिव र प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रकुमार श्रेष्ठले आफ्नो तजबिजमा नजिकका कर्मचारीहरूलाई आकर्षक ठाउँमा पठाउने गरेको आरोप छ । कर्मचारी सरुवामा आर्थिक चलखेल भएको पनि आरोप र चर्चा छ ।
पैसा दिन नसक्ने कर्मचारीले आकर्षक ठानिने ठाउँ पाएका छैनन् ।
Discussion about this post