इनरुवा। इनरुवा, मंसिर ५ गते । सुनसरीमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
जिल्लाको १ सय ६६ स्थानबाट ४ सय ९३ मतदान केन्द्रमा ६१ प्रतिशत मतदाताले मतदान गरेको प्रारम्भीक अनुमान गरिएको छ । जिल्लाको ५ वटा निर्वाचन क्षेत्रमा औषत मतदान ६१ प्रतिशत भएको अनुमान गरिएको हो । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा ४६ प्रतिशत, क्षेत्र नं. २ मा ४९ प्रतिशत, क्षेत्र नं. ३ मा ६४ प्रतिशत र क्षेत्र नं. ५ मा ४५ प्रतिशत मतदान भएको जनाइएको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार पूर्ण विवरण आउन राती अबेर हुन सक्ने भए पनि प्रारम्भीक अनुमान अनुसार ६१ प्रतिशत बढी मतदान भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लाको सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । यादवले जिल्लाको सबै निर्वाचन क्षेत्रको छुट्टा छुट्टै स्थानमा मतगणना गर्ने तयारी भएको जानकारी दिनु भयो ।
उता स्थानीय तहको भन्दा कम मतदान भएको स्थानीयहरुले बताएका छन । स्थानीय तहको निर्वाचनमा स्थानीय वडा कै उमेदवारहरु भएकाले मतदान प्रतिशत बढी भएकोमा यस निर्वाचनमा उमेदवार कम भएकाले उत्साह पनि कम देखिएको बताइएको छ ।
यसैबिच नेपाली काँग्रेसका उमेदवार एवम पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दुहबीको शिशु निकेतन आधारभूत मतदान केन्द्रबाट मतदान गर्नु भएको छ भने नेकपा एमालेकी उमेदवार भगवती चौधरीले गढी गाउँपालिकाको सरस्वती मावि मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।
यसैबिच सञ्चार तथा सूचना प्रविधि एवम् कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरीको बराहक्षेत्र नगरपालिका १० प्रकाशसपुरको भगवती अधारभुत विद्यालयमा मतदान गर्नुभएको छ । उहाँले आफ्नै मतदान केन्मा पुगेर मतदान गर्नुभएको हो । मतदानपछि उहाँले संचारकर्मीहरूसँग कुराकानी गर्नुहुदै मतदान गर्ने नागरिकको मौलिक अधिकार भएकाले सबैले यसको उपयोग गर्नुपर्ने बताउनुभयो । मन्त्री कार्कीले मताधिकारबाट कोही पनि बञ्चित हुन नहुने भएकाले यसको पूर्ण उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा विकास र जनताको भावनाको कदर गर्न गठबन्धनको आवश्यकता रहेको र निर्वाचन पनि गठबन्धनकै सरकार बन्ने बताउनुभयो । कार्की सुनसरी निर्वाचन क्षेत्र नं. ५ प्रतिनिधि सभा सदस्यका उम्मेदबार समेत रहनुभएको छ ।
उता पूर्व मुख्य मन्त्री भिमप्रसाद आचार्यले इनरुवा नगरपालिका ६ मधेसाको जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ । उहाँले आफ्नै गाउँको मतदान केन्मा पुगेर मतदान गर्नुभएको हो । आचार्यले देशको विकास र समृद्धिको नारालाई सार्थक पार्नका लागि निर्वाचन पछि एमाले नेतृत्वको सरकार बन्ने दावी गर्नुभयो । आचार्य सुनसरी निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदबार हुनुहुन्छ ।
उता सुनसरीको झुम्का कारागार अस्थायी मतदान केन्द्रमा ५० जना कैदी बन्दीहरुले मतदान गरेका छन् । समानुपातिक तर्फ मतदानको अधिकार पाएका ५० जना कैदी बन्दीहरुले मतदान गरेका हुन् । यहाँका ५१ जनाको नमावलीमा नाम भएपनि एक जना निर्वाचन अघि नै छुटेकाले ५० जना कैदीबन्दीहरुले मात्र मतदान गरेको मतदान अधिकृत एवम् जेलर महेन्द्र सिंह खड्काले जानकारी दिनुभयो । सबै करागार भित्रैका कैदी बन्दीहरु रहेकाले ११ बजे नै मतदान गर्ने कार्य सकिएको खड्काले जानकारी दिनुभयो ।
Discussion about this post