सुनसरी। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भारी मतका साथ कांग्रेसका प्रत्यासी उम्मेदवार बिजयकुमार गच्छदारलाई पराजित गरेकी एमालेकी भगबती चौधरीलाई जनताले भब्य स्वागत गरेका छन् । विगतका दुई वटा निर्वाचन जितेर पनि हार व्यहोरेकी चौधरीको आत्म विस्वास, लगनशीलता र जुझारुपनलाई सम्मान गर्दै जनताले यो पटक अत्याधिक मतका साथ संसदमा पठाएका हुन् ।
गच्छदारको ३१ वर्षे शासन सत्ता ढाल्न सफल भएकी चौधरीले आफ्ना मतदातालाई धन्यवाद दिन घरदैलो गर्दा जनताले सफल कार्यकालको शुभकामना दिँदै अब सुनसरी क्षेत्र नं. ३ मा विकासको लहर ल्याउन पनि सुझावहरु दिए । विकासका दृष्टिकोणले पछि परेको क्षेत्रका बर्जु गाउँपालिका, गढी गाउँपालिका तथा इटहरी वडा नं. ९ को सुकुम्बासी क्षेत्रका जनताले शिक्षा, स्वास्थ्य, रोजगारी तथा सडक पूर्वाधारका क्षेत्रमा उल्लेखनीय काम गर्न आग्रह गरे ।प्रदेश सभा सदस्यमा निर्वाचितद्वय रोहितबहादुर कार्की तथा रामदेव यादव सहित गाउँगाउँ टोलटोलमा पुगिरहेकी चौधरीले निर्वाचन ताका आफुले गरेका प्रतिबद्धताहरु पुरा गर्न, शिक्षा, स्वास्थ्य, रोजगारी, सडक पूर्वाधार जस्ता आधारभूत आवयश्यक्ताका सवालमा काम गर्ने प्रतिबद्धता जनाइन् ।
आफ्नो जन्मभूमी मात्र नभएर कर्मभूमी समेत सुनसरी क्षेत्र नं. ३ रहेको जनाउँदै चौधरीले आगामी ५ वर्षभित्र विगत ३१ वर्षमा हुन नसकेको कामहरु गर्ने योजना बनाएको बताउँदै तीनै तहका सरकारका प्रतिनिधिहरु एक भएर सुनसरी ३ लाई नमुना क्षेत्रको रुपमा उभ्याउने प्रतिबद्धता जनाइन् ।
धन्यवाद व्यक्त गर्दै नेतृ चौधरी, प्रदेश सभा विजयी उम्मेदवार सहितको टोली जता जता पुग्दथ्यो मतदाता र स्थानीय जनताहरु अबिर र फुलमाला लिएर १५ वर्ष देखिको अथक प्रयास सफल भएको भन्दै खुसीयाली साटासाट गरिरहेका हुन्थे ।
३१ वर्षदेखि एउटै व्यक्तिको शासन सत्ता झेलिरहेका सुनसरी ३ का जनताले यो पटक परिवर्तनको पक्षमा भोट हाल्दै महिला तथा आर्थिक सशक्तिकरणकी अभियान्ता चौधरीलाई अत्याधिक मत दिएका थिए । नेतृ चौधरीले ४० हजार ७ सय ८८ मत पाउँदा उनका निकटतम प्रतिष्पर्धी गच्छदारले ३५ हजार ६ सय मत पाएका थिए ।एक्सन खबर
Discussion about this post