जनकपुरधाम । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा डा. पंकज चौधरी पक्राउ परेका छन् ।
मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । नेहाले दिएको दाइजो विरुद्धको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको हो ।
दाइजो विरुद्धको कसूरमा कारबाही चलाउन पंकजमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ । तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ नेहाको परिवारले खर्च गरेका थिए ।
बिहेको चार महिना पश्चात पंकज र नेहाबीच खटपट सुरु भएको थियो । पंकजले थप दाइजोमा काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई कुटपिट तथा यातना दिइरहेको नेहाको आरोप छ ।
पंकजलाई विपक्षी बनाइ नेहाले घरेलु हिंसाको मुद्दा यही २५ गते जिल्ला अदालत महोत्तरीमा दर्ता गराएकी थिइन् । मुद्दामा सोमबार सुनुवाई भएको थियो । दुबै पक्षको अधिवक्ताहरुले बहस गरेपछि न्यायाधीश युवराज गौतमले आदेश दिएका थिए । न्यायाधीश गौतमले नेहालाई संरक्षणात्मक पाँच बुंदे आदेश दिँदै इज्जत साथ आमद अनुसार खान लगाउन दिनुको साथै सुरक्षित साथ स सम्मान घर बस्न दिन आदेश दिएको छ । गाली गलौज नगर्न नगराउन र, धम्की, कुटपिट, शारीरिक तथा मानसिक यातना र जिउ ज्यानमा असर पुग्ने कुनै पनि गतिविधि नेहाँसँग नगराउन आदेशमा उल्लेख गरिएको छ । जाहेरी वलाको वकिल रिंकुले नेहाको भरण पोषण खर्चको समेत दाबी गरेकी थिइन् । तर न्यायाधीश गौतमले प्रतिवादीको आम्दानीको स्रोत पहिचान गरी सो विवरण पेश गर्न निर्देशन दिएका छन् । सो विवरण प्रमाणसहित अदालतमै विचाराधीन रहेको अंश मुद्दामा समावेश गरी पुनः सुनुवाईका लागि पेश गर्नुपर्ने निर्देशन आदेशमा उल्लेख छ ।
Discussion about this post